फाइल फोटो

राजनीति

कांग्रेसका नेता जोशीद्वारा डोटी भूकम्प पीडितलाई ५० हजार राहत दिने घोषणा

By खबरहब

November 09, 2022

काठमाडौँ- समाजसेवी एवम् नेपाली कांग्रेसका नेता पदमराज जोशीले गएराति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् ।

डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

उनले भने, “मृतकका परिवारलाई परेको शोकबाट म पनि मर्माहत भएकाले पीडित परिवारजनलाई राहत दिने घोषणा गरेको हुँ ।” भूकम्पको धक्का आफ्नो क्षेत्रमा महसुस भए पनि मानवीय क्षति नभएको र कतिपय घरमा चिरा परेको उनले बताए ।

पूर्वीचौकी गाउँपालिकामा भूकम्पका कारण भत्किएका घरमा च्यापिएर पाँच जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सो क्षेत्रमा दर्जनजति घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । जिल्लाका धेरै परिवारको घरमा चिरा परेको छ । नेपाली सेना प्रहरी उद्धारमा खटिएको छ ।