क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो दिन चार खेल

By खबरहब

January 10, 2022

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज (सोमबार)बाट सुरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा पहिलो दिन ४ खेल हुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा गर्ने भएको छ ।

नेपाली टोलीले आगामी महिना ओमानमा हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० फर्म्याटमा गर्न लागिएको हो ।

टियु मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सवा १ बजे हुने एपीएफ र प्रदेश २ खेल्नेछन् ।

मुलपानीमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश पाउनेछन् ।