काठमाडौँ– कोभिड–१९ को ओम्रिकोन भेरियन्ट फैलिएसँगै यसको लक्षण ‘माइल्ड’ हुने समाचार पनि प्रकाशित भए । विभिन्न अध्ययन र अन्वेषण अनुसार यो कोभिडको डेल्टा भेरियन्टभन्दा ‘माइल्ड’ भएको प्रमाणित भएको छ ।
धेरैले यसको मतलब ओम्रिकोन भेरियन्टको कुनै असर नै नहुने भन्ने अर्थमा बुझेको पनि पाइएको छ । चिकित्सकले विगतको भन्दा ‘माइल्ड’ भने पनि सङ्क्रमित सबैको हकमा यो लागु नहुन सक्छ ।
माइल्डको व्याख्या स्थान र देशअनुसार त्यहाँका स्वास्थ्य अधिकारीले तय गर्ने गर्छन् । अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले भने खकार, घाँटी दुख्ने र अल्छी लाग्नेसम्मलाई माइल्डको सीमाभित्र राखेको छ ।
सिकागोको एक अस्पतालमा कार्यरत डाइटीसीयन माइकल कोर्डेस भ्याक्सिन लगाइसकेकी थिइन् । उनले बुस्टर डोज पनि लगाएकी छिन् ।
भाइरसबाट बच्न सधैँ मास्क प्रयोग गर्ने र कहिले पनि भीडमा नजाने उनको आदत थियो । ३० डिसेम्बरका दिन उनका लागि राम्रो भएन । रुघाको एलर्जी देखिएपछि उनकी छोरी स्कुलबाट घर आएकी थिइन् ।
घरमा आएर आफ्नो कोरोना परीक्षण गराउँदा पोजेटिभ पाइन् । उनी मात्र होइन, उनका ससुरा, श्रीमान् र छोरा समेत सङ्क्रमित थिए ।
उनीहरू सबैलाई खकार आउँथ्यो । घाँटी सुकेको थियो । लगातार चार दिनसम्म श्रीमान् र उनलाई राती पसिना आइरहेको थियो ।
उनी अस्पतालमा जुन बिरामीको हेरचार गरी रहेकी थिइन्, तीनको तुलनामा उनको लक्षण ‘माइल्ड’ थियो । तर, उनी आफूले जे महसुस गरी रहेकी थिइन् । त्यस आधारमा ‘माइल्ड’ भन्न सक्ने अवस्था थिएन ।
डेल्टाको तुलनामा कम लक्षण देखिने यो भेरियन्टको सङ्क्रमण भएको धेरैलाई लक्षण नै नदेखिन पनि सक्छ । तर, यसको मतलब यो होइन कि, यो भेरियन्टले केही पनि गर्दैन । या अस्पताल जानु पर्दैन भन्ने पनि होइन । भ्याक्सिन नलगाएको धेरैलाई अस्पताल भर्ना गर्नुपरेको छ ।
शनिवारको दिनसम्म अमेरिकामा १ लाख २६ हजार ४ सय १० जना अस्पतालमा उपचार गराइसकेका थिए । युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसका अनुसार यो सङ्ख्या गत वर्षको पिकको ८९ प्रतिशत हो ।
‘माइल्ड’ लक्षण हुनेमा पनि लङ कोभिडको समस्या देखिएको छ । यो समस्या ६ महिनासम्म रहन सक्नेछ । यस कारण ‘माइल्ड’ को पुर्नव्याख्या हुनुपर्ने उनको मत छ ।
‘चिकित्सक या आधिकारिक स्वास्थ्य निकायको आँखामा तिमी अस्पताल भर्ना हुनु परेन भने त्यो माइल्ड हो । तर, घरमै ओछ्यान लगाएर बस्नु परे यो तिम्रा लागि माइल्ड होइन’, डोरोनले भनिन् ।
कोर्डेस भने तीन दिनसम्म राम्रोसँग बस्न पनि नसकेको अनुभव सुनाउँछिन् ।
‘हामी सबै अत्यास मानी रहेका थियौँ । थकित थियौ । हामी अत्यन्त शिथिल पनि भयौँ,’ कोर्डेस कोभिड सङ्क्रमित भए पछिको अनुभव बताउँछिन् ।
चौथो दिन घरमै बसेर काम गरे पनि उनलाई असहज महसुस भइरहेको थियो ।
मल्टीमिडियाका मास्टर डेभ जुडायको अनुभव पनि यस्तै छ । नियमित परीक्षणको क्रममा ८ डिसेम्बरमा उनलाई कोभिड देखिएको हो ।
एरिजोना स्कुलमा रेडियो र अडीयोका प्रशिक्षक यिनी सधैँ मास्क लगाउने गर्छन् । पारिवारिक सदस्यको स्वास्थ्य उनको प्रमुख प्राथमिकता हो । दीर्घरोगी समेत रहेकी उनकी श्रीमतीका कारण उनी यस सवालमा अझ बढी सचेत छन् । घरमा सदस्यले उनी सङ्क्रमित भएपछि सबै सङ्क्रमित हुन सक्नेमा सावधान गराइरहेका थिए ।
भ्याक्सिन र बुस्टरले राम्रोसँग काम गरेको उनको अनुभव छ । उनी अस्पताल जानु त परेन । तर, केही दिन भयङ्करसँग टाउको दुखाइको अनुभव उनले गरे । टाउको धेरै गह्रुङ्गो भएको र स्वाद र गन्ध हराइ रहेको अनुभव उनको पनि हो ।
अहिले उनी भर्चुअल कक्षामा अध्यापन गराइरहेका छन् । तर, भ्याक्सिन नलगाएको भए हुनसक्ने अवस्थाका बारे बारम्बार सोचिरहन्छन् ।
डोरोनकै अनुसार यी सबै लक्षण शरीरका अङ्गले भाइरससँग सङ्घर्ष गरिरहेको समयमा हुन्छ । यिनले दु:ख दिन्छ । तर, चिकित्सकीय भाषामा भन्दा यसले राम्रो नै गरी रहेको हुन्छ । स्वास्थ्य संयन्त्रलाई अप्ठेरो भएको समयमा यी सामान्य लक्षणमा अस्पताल जानु उपयुक्त पनि मानिँदैन । तर, माइल्डको यसै परिभाषाले संसारलाई अलमल्याएको छ । यस कारण बढेको हेलचेक्र्याइँले सबैलाई सताइ रहेको छ ।
“जब मानिसलाई धेरै थकानको महसुस हुन्छ ,त्यो भनेको फेरी पुरानो अवस्थामा आउन शरीरले गरेको सङ्घर्षको कारण हो । यस समयमा मानिसले लक्षणलाई बेवास्ता गर्छ र परीक्षण गर्दैन, ”भन्डरबील्ट विश्व विद्यालय मेडिकल सेन्टरका सङ्क्रामक रोगका प्राध्यापक विलियन स्क्याफनरले भने ।
उनको विचारमा यो ‘माइल्ड’ लक्षणमा पनि मानिसले परीक्षण गर्नु जरुरी हुन्छ । किनकि केही थप जटिलता देखिएमा तत्काल उपचार बढाउन सहयोग पुग्ने छ । परीक्षणले आफूलाई आइसोलेट गरेर अरूलाई सङ्क्रमण सर्नबाट जोगाउन पनि सकिने छ । आफ्नो लक्षण सामान्य भए पनि उमेर पुगेका तथा दीर्घ रोगीहरूमा यो सङ्क्रमण पुग्छ की भनेर सधैँ परीक्षण गराउन र आइसोलेट गर्नु अति आवश्यक रहेको उनी बताउँछन् ।
विगतको भन्दा ओम्रिकोन तीव्र गतिमा फैली रहेको तथा कम घातक भए पनि मानिसहरूले भ्याक्सिन लगाउन र बुस्टरमा गरेको लापरबाही गर्दा गल्ती साबित भइरहेको छ ।
“अहिले पनि धेरै जनालाई अस्पतालमा भर्ना गर्नुपरेको छ । यसका बाबजुद भ्याक्सिन नलगाउने धेरै छन्,” स्क्याफनर भन्छन्, “अस्पताल होटेल या रिसोर्ट जस्तो त होइन । ”
युएच रेन्बो बेबीच तथा चिल्ड्रेन अस्पतालमा बालबालिकामा सङ्क्रामक रोग नियन्त्रणमा कार्यरत डा. क्लाउडिया हायन सबैलाई भ्याक्सिन लगाउन र बुस्टर डोज लगाउन सल्लाह दिन्छिन् । उनकै विचारमा अस्पतालले मानिसलाई उपचारको सेवा उपलब्ध गराए पनि अस्पतालबाट फर्केको लामो समयसम्म पनि यस रोगको असर हुन सक्छ ।
हायनकै अनुसार आइसीयूमा पुगेका मध्यका ३० प्रतिशत कहिल्यै पनि फर्किएनन् । उनी भन्छिन्, “भ्याक्सिन नलगाएको मानिसले आफूलाई कसैले बचाइरहेको महसुस गर्न सक्छ । तर, कुनै यस्तो दिन आउन पनि सक्छ कि कसैले पनि उसलाई बचाउन सक्दैन ।”
अमेरिकामै कोभिड फेरि उत्कर्षमा गइरहेको समयमा बच्चाहरूको अस्पताल भर्नाको सङ्ख्या दर अहिलेसम्मकै उच्च भएको छ ।
डिसेम्बरको अन्तिम सातामा ५ वर्ष मुनिको बालबालिकामा प्रति लाख ४.७ जनाका दरले अस्पताल भर्ना भए । योभन्दा एक साताअघि यो दर २.६ थियो ।
अमेरिकाको सेन्टर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सन सेन्टर(सीडीसी)का निर्देशक डा. रोचेल वालेन्सकीले भ्याक्सिन लगाउने उमेर नपुगेका बालबालिकाहरूलाई ध्यानमा राख्दै बढी सावधानी अपनाउनुपर्ने बताएका छन् । सीडीसी कै तथ्याङ्कअनुसार १८ वर्ष मुनिका बालबालिकामा अस्पताल भर्ना हुनेको सङ्ख्यामा एक सातामै ८० प्रतिशतले वृद्धि भएको छ ।
उनी बालबालिकालाई जोगाउन भ्याक्सिन लगाउन अनिवार्य रहेको तथा दायाँ बायाँ भ्याक्सिन लगाएकाहरू मात्र रहनु उपयुक्त भएको बताएकी छिन् । उनीहरूलाई जोगाउनकै लागि अमेरिकामा नयाँ निर्देशिका पनि तयार गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनका कोभिड सल्लाहकार बोर्डका पूर्व सदस्य डा. एजेकाइ एमानुएल भ्याक्सिनलाई तीव्र बनाउनका साथे अहिले भइरहेको दुई थेरापी बाहेक अन्य केही प्रभावकारी उपचार पद्धतिको विकास अनिवार्य रहेको बताउँछन् ।
उनी सहितका वाइडेनका कोभिड सल्लाहकार बोर्डका तीन पूर्व सदस्यले एउटा जर्नलमा कोभिड १९ को समाप्ति नभएसम्मका लागि बाच्ने तरिकाका बारे जर्नलमा एक लेख लेखेका छन् ।
अहिले संसारमा दैनिक २६ लाख भन्दा बढीको सङ्क्रमण देखिन थालेको छ । यो जति गुणा कम घातक छ, त्योभन्दा बढी सङ्क्रामक छ ।
यसकारण विगतमा जस्तो विकराल अवस्था र अस्पतालको चापले नै थेग्न नसक्ने अवस्था आउन नदिनका लागि जतिसक्दो छिटो भ्याक्सिन, बुस्टर, मास्क, सामाजिक दुरी र सावधानीको आवश्यकता संसारका सबै देशका नागरिकका लागि हो ।
ओम्रिकोन ‘माइल्ड’ भन्नुको मतलब मृत्यु दर कम हो । तर, अस्पताल जानै पर्दैन, कोही पनि मर्दैन भन्ने चाहिँ पक्कै होइन । यस कारण सतर्कता अहिलेको प्रमुख आवश्यकता हो ।
–एजेन्सीहरूको सहयोगमा