फाइल फोटो

राजनीति

सरकार चुनावमा जान डराएको ओलीको आरोप

By खबरहब

January 10, 2022

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले त्यसका लागि कुनै तयारी नगरेको बताएका छन् । संखुवासभामा सोमबार एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार चुनावमा जान डराएको आरोप लगाएका छन् ।

उनले कानून अनुसार स्थानीय तहको निर्वाचन फागुनमा हुनुपर्ने भए पनि त्यो समयमा चुनाव हुने सम्भावना आफूले देखेको जनाए । ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ,’ उनले भने ।

अध्यक्ष ओलीले सरकार स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन खोजिरहेको दाबी गरे । उनले स्थानीय तहको जिम्मा कर्मचारीलाई दिएर जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र भइरहेकोसमेत आरोप लगाए । २०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन २०७४ मा भएको स्मरण गर्दै उनले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी गरेका थिए ।