क्रिकेट

गांगुली र कोहलीको लडाईले भारतीय क्रिकेटलाई कति घाटा ?

By एसेन्स श्रेष्ठ

February 10, 2022

काठमाडौँ– हरेक परिचित अनुहार आफ्नो काम र जिम्मेवारी अनुसार चर्चित हुन्छ । मानिसहरुको भरोसा बन्छ । अहिले भारतीय क्रिकेटको कुरा गर्दा त्यही भरोसा गरिएका जिम्मेवारीमा रहेका बीसीसीआई अध्यक्ष सौरभ गांगुलीको चर्चा चलिरहेको छ ।

उनी हिजो भारतीय क्रिकेट टिमको कप्तानीमा हुँदा पनि चर्चामा थिए । त्यसबेला उनी जति क्षमतावान थिए, त्यति नै आफ्नो व्यवहारका कारण चर्चामा आउँथे ।

अहिले भारतीय क्रिकेटमा त्यो स्थान विराट कोहलीले लिएका छन् । क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरको पदचाप पछ्याइरहेका कोहली गांगुलीको जस्तो स्वभावका कारण पनि चर्चामा छन् ।

तर उनीहरुबीच अहिले विवाद छ । कोहलीले टी–ट्वान्टी टिमको कप्तानीबाट राजीनामा दिएपछि गांगुलीले एकदिवसीय टिमको कप्तानीबाट पनि हटाइदिए ।

त्यसपछि उनीहरुको विवाद सतहमा आएको हो । खासगरी को शक्तिशाली बन्ने भन्ने होडमा । कोहली अहिले विश्व क्रिकेटकै सबैभन्दा शक्तिशाली क्रिकेटर हुन् । आइसीसीको दशककै उत्कृष्ट खेलाडी र कप्तान भएका कारण पनि उनी विश्व चर्चित र शक्तिशाली खेलाडी हुन् ।

भारतीय क्रिकेटको शक्तिशाली पदमा गांगुली छन् । दुवै जना क्षमतासँगसँगै आफ्नो स्वभावका कारण पनि शक्तिशाली मानिन्छन् । अहिले त्यही ‘एट्टिच्युड’ बोकेका कोहली र गांगुलीबीच विवाद चर्किदो छ ।

स्वभावको मामिलामा गांगुलीभन्दा कोहली अघि छन् । रिसाउनेदेखि नाच्ने र नयाँ खेलाडीलाई उत्साहित पार्ने मामलामा कोहली धेरैका लागि प्रिय छन् । जुन कुरा सुरुमा मन परेपनि अहिले गांगुलीलाई मन परेको छैन ।

तर त्यसको जवाफ कोहलीले यसरी दिए, जसमा गांगुली प्रश्नबाट भाग्न सकेनन् । विश्वकै नम्बर एक टेस्ट टिम बनाएका कोहलीले कप्तानबाट राजीनामा दिए । भारतको क्रिकेट कप्तानबाटै राजीनामा दिएका कोहली यतिबेला विश्व क्रिकेटका एक मात्रै आइकन हुन् । खेल क्षमता, सफलता र आफ्नो उचाईका हिसाबले सचिनपछि कोहली मात्रै आइकन मानिन्छन् ।

जुन गांगुलीलाई मन परे । अहिले त्यही कुरा कोहलीलाई पनि मन परेन । अनि उनले टेस्ट टिमको कप्तानबाट पनि राजीनामा दिएर विश्वलाई चकित पारिदिए । अहिले पनि यो विषय विवादमा छ ।

बीसीसीआई अध्यक्ष गांगुलीलाई छनोट समितिमा उपस्थित भएर दबाब सिर्जना गर्ने र खेलाडी छनौट गर्ने छनौटकर्ताको निर्णयलाई प्रभावित गर्ने आरोप लागेको थियो । तर, गत शुक्रबार ‘दादा’ भनेर पनि चिनिने गांगुलीले यो आरोप झुटो भएको स्पष्टीकरण दिएका छन् ।

‘मैले कसैलाई पनि यस्तो भ्रमपूर्णविषयमा जवाफ दिनुपर्छ, जस्तो लाग्दैन । म बीसीसीआईको अध्यक्ष हुँ र अध्यक्षले गर्नुपर्ने काम मात्रै म गर्छु,’ भारतीय सञ्चारमाध्यमलाई गांगुलीले जवाफ फर्काए । खासगरी छनौट समितिमा कोहली, रोहितसँगै गांगुली र सचिव जय शाह रहेको फोटो सार्वजनिक भएपछि यो विवाद बाहिर आएको हो ।

‘एउटा तस्वीर सामाजिक संजालमा घुमिरहेको रहेछ । जसअनुसार म छनोट समितिको छलफलमा छु’ उनले थप अगाडि भनेका छन्, ‘तर त्यसलाई ध्यानपूर्वक हेर्ने हो भने म त्यस तस्वीरमा जय, कोहली र सहसचिव जयेश जोएसँग थिए । जयेश छनोट समितिका त पक्कै पनि होइनन् ।’

उनले आफूले भारतको क्रिकेटको विकासका लागि गर्नुपर्ने कामका विषयमा राम्रोसँग जानकार रहेको पनि बताएका छन् । भारतीय क्रिकेटको विकासका लागि आफूले गर्नुपर्ने कामबारे अरुले टिप्पणी गर्न आवश्यक नरहेको गांगुलीको प्रष्टीकरण छ ।

‘मैले भारतको लागि ४२४ अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छु । जसमध्ये ११३ वटा त टेस्ट क्रिकेट मात्रै खेलेको छु’ उनले हाँस्दै आलोचकलाई जवाफ फर्काएका छन््, ‘कहिले काँही मानिसहरुलाई त्यसबारे सम्झाउन गलत त नहोला कि ?’

भारतीय क्रिकेट टिमलाई आक्रामक र रणनीतिकार बनाउन गांगुलीको ठूलो योगदान छ । खासगरी विदेशी भूमिमा भारतीय टिमलाई जिताउने मुख्य श्रेय गांगुलीलाई जाने गरेको छ । उनी पुरा रणनीतिका साथ मैदान उत्रिदा विपक्षीलाई दबाब दिने गरेका थिए । त्यही सुत्र पछ्याउँदै कोहलीले सबैभन्दा ठूलो सफलता हात पारे । अहिले त्यही सफलताको इष्र्या गांगुलीलाई हुने गरेको टिप्पणी पनि भारतमा हुने गरेको चर्चा छ ।

तर गांगुली र कोहलीको विवादले भारतीय क्रिकेटको टिमको लगातार सफलता र विश्व क्रिकेटमा प्रभावशाली प्रदर्शन खस्किने चिन्ता छ ।

यद्यपी गांगुलीले आगामी विश्वकपमा उपाधि जित्न रोहित शर्मालाई कप्तान बनाइएको दाबी गर्दै आएका छन् । रोहित आइपीएलमा सर्वाधिक ४ पटक उपाधि जित्न सफल भएकाले पनि उनी भारतीय राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सफल हुने अनुमान छ ।