बलिउड/हलिउड

ओस्कारमा ‘द पावर अफ द डग’को चर्चा

By मनोज घिमिरे

February 10, 2022

काठमाडौँ– जेन क्याम्पेनको ‘द पावर अफ द डग’ले यस वर्षको ओसकार मनोनयनमा अन्य सबै फिल्मलाई पछि पारेको छ । बेनेडिक्ट कम्बरब्याजको मुख्य अभिनय रहेको फिल्म १२ विधामा मनोनयनमा परेको हो । ड्युन १० विधामा मनोनयनमा परेको छ भने बेलफास्ट र वेस्ट साइड स्टोरी सात विधामा मनोनयनमा परे ।

कम्बरब्याजसहित ओलिभिया कोलम्यान र एन्ड्रयु गारफिल्डसहित तीन बेलायती नायक तथा नायिका मनोनयनमा पर्न सफल भए । सहअभिनेता तथा अभिनेत्रीमा डेड जुनी जेन्क र सियारिन हिन्ड्स मनोनयनमा परे । यी दुवैले सर केनेथ ब्रनागको अटो बायोग्राफीकल श्याम श्वेत फिल्म बेलफास्टमा अभिनय गरेका थिए । उत्तरी आयरल्यान्डमा जिन्दगी बिताउने क्रममा एक परिवारले पाएको दुखको कथा त्यस फिल्ममा प्रस्तुत गरिएको छ ।

उत्कृष्ट निर्देशकमा समेत मनोनयनमा परेका सर केनीथले बेलफास्टको सडकबाट एकेडेमी अवार्डको मनोनयन सम्मको यात्रा साँच्चै कठिन भएको प्रतिक्रिया दिएका छन् । उनले आमा र बाबु मात्र होइन हजुरबा र हजुरआमाले समेत आइरिस भएकोमा गर्व गर्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नै परिवारले पाएको दुख र कष्टलाई एकेडेमी अवार्डमा मनोनयन गर्दै अनुमोदन गरेकोमा एकेडेमी अवार्डको टिम प्रति कृतज्ञता समेत जाहेर गरेका छन् ।

उनी फिल्म क्यारियरमा सात भिन्न विधामा ओसकार अवार्डका लागि मनोनयनमा परेर अर्को कीर्तिमान कायम गर्न सफल भएका छन् । उनी यसभन्दा अगाडी नै निर्देशक, अभिनेता, सहअभिनेता, एडप्टेड स्क्रिन प्ले र लाइभ एक्सन स्क्रिन प्लेमा मनोनयनमा परि सकेका छन् । यसैगरी, बेस्ट ओरिजिनल स्क्रिन प्ले र उत्कृष्ट फिल्मको अवार्ड भने जित्न बाँकी रहेका उनी यस पटक ती दुई स्पर्धामा पनि मनोनयनमा परेका छन् ।

यस पटक मनोनयनमा परे पछि जेन क्याम्पियन दुई पटक ओसकार अवार्डको मनोनयनमा पर्ने पहिलो महिला निर्देशकको रूपमा कीर्तिमान कायम गर्न सफल भइन् ।

उनको निर्देशनको त्यस चलचित्रमा तीन जना जेसे प्लेमन्स, कोडी स्मिट म्याक फी र किस्टर्न डन्सट सहयोगी भूमिकाका लागि समेत चयन भए ।

‘द पावर अफ द डग’, ‘डयुन’, ‘बेलफास्ट ’र ‘वेस्ट साइड स्टोरी ’पछि सबै भन्दा धेरै विधामा मनोनयनमा पर्ने चलचित्र ‘किङ रिचार्ड ’बनेको छ । त्यस फिल्म ६ विधामा तथा ‘ड्वन्ट लुक अप ’चार विधामा मनोनयनमा परेका छन् । यसै गरी, ‘नायट मेयर एली’ र ‘डाइभ माई कार ’ चार विधामा मनोनयनमा परे ।

मङ्गलवार एकेडेमीले मनोनयन सार्वजनिक गरे पछि धेरै स्टारहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । ‘आइज अफ टेमी फे’की नायिका जेसिका चास्टेयनले ट्विट गरेकी छिन्,‘यो बिहान स्वर्णिम बनेको छ । हामी आभारी छौँ,’ उनले थप उल्लेख गरिन्, ‘अन्य एक से एक नायिकाको समकक्षमा रहन पाउँदा यो वर्ष विशेष बनेको छ ।’

कोडी स्किटले नै ट्विट गर्दै एकेडेमीले उत्कृष्ट सह अभिनेतृमा मनोनयन गरे पछि गर्वको अनुभूत गरेको उल्लेख गरेकी छिन् ।

यसै विधामा मनोनयनमा पर्ने बेलफास्टकी हिन्ड्सले ५० वर्ष लामो कला यात्रामा यो समाचारले आफूलाई आश्चर्यमय खसी दिलाएको प्रतिक्रिया दिएकी छिन् । उनी आफू कृतज्ञ रहेको पनि बताएकी छन् ।

सहअभिनेतृमा मनोनयनमा परे पछि जेसी बर्कलीले आफू अचम्मित भएको प्रतिक्रिया दिएकी छिन् । उनले ट्वीट गरिन्,‘ द लस्ट डटर मेरा लागि विशेष बनेको छ । एक प्रकारको विश्वासै नलाग्ने सपना पुरा भएको छ ।’

बेलायती अभिनेता एन्ड्रयु गारफिल्डले दिवङ्गत सङ्गीतकार जोनाथन लार्सन ‘टिक टिक बुम’का लागि मनोनयनमा पर्नु खसीको कुरा भएको उल्लेख गरेका छन् । जोनाथनको हरेक कथाले आफूलाई कसरी बाच्नु पर्छ भन्ने सिकाएको उनले उल्लेख गरेका छन् ।

गारफिल्डले एकेडेमीको यो मनोनयनले जोनाथानको गीतलाई विश्वव्यापी रूपमा जीवन्त बनाएको प्रतिक्रिया दिएका छन् । ‘वेस्ट साइड स्टोरी’कै लागि सहअभिनेतृको मनोनयनमा परेकी आरियाना डी बोसले यो उपलब्धि महत्त्वपूर्ण भएको प्रतिक्रिया दिएकी छिन् ।

दुई जोडी पनि यस पटक मनोनयनमा परे । पेनलप क्रुज र जेभिएय बर्डाम सन् २०१० मा विवाह बन्धनमा बाँधिएका थिए । यसै गरी, यस पटक मनोनयनमा पर्ने प्लेमन्स र डन्सट प्रेममा बाँधिएका छन् । डन्सटले आफ्नै प्रेमीका सहित एकेडेमी अवार्डका लागि मनोनयन हुनुलाई गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् ।

उत्कृष्ट अभिनेतृमा मनोनयनमा परेका पाँच जनाकै चलचित्र भने मनोनयनमा परेको छैन । गत वर्ष नोमाडल्यान्ड चलचित्र र अभिनेतृ फ्रान्सेस म्याक डोरम्यान्डले यो अवार्ड पाएका थिए । यसरी अभिनेत्री र चलचित्र दुवै विधामा अवार्ड पाएको त्यो १५ वर्षमा पहिलो पटक थियो ।

मनोनयन केही अनपेक्षित पनि रह्यो ‘हाउस अप गुसी’का लागि लेडी गागालाई दाबेदार मानिएको थियो । तथापि उनी मनोनयनमा परिनन् । यसै गरी, ‘थर्टी सेकेन्ड टु मार्स’मा गागासँगै गीत गाएका जेरार्ड लेटो पनि मनोनयनमा पर्ने अनुमान गरिएको थियो । यी दुवैका बारे गरिएका अनुमान गलत साबित भए । लेटो पनि मनोनयनमा परेनन् । ‘लीकोरी पिज्जा’मा अभिनय गरेकी अन्ना हियामलाई पनि यस पटक नजर अन्दाज गरिएको छ ।

‘स्पेन्सर’मा राजकुमारी डायनाको भूमिका अभिनय गरेकी क्रिस्चीयन स्टेवार्टलाई अभिनेत्रीको विधामा दाबेदार मानिएको थियो । तथापि, उनी पनि मनोनयनमा पर्न सकिनन् । केही समय अगाडीसम्म उनलाई दाबेदार मानिए पनि बजारमा त्यस फिल्मको प्रभाव कम भए पछि अहिले मनोनयनमा समेत पर्न सकिनन् ।

‘बेलफास्ट’की डेम जुडीलाई कसैले सह अभिनेत्रीको उपाधि जित्ने प्रबल दाबेदार मानेका थिएनन् । अन्यले धेरै प्राथमिकता नदिए पनि एकेडेमी अवार्डका छनोटकर्ताहरूले उनलाई मन पराएका छन् । उनी क्यारियरमा आठौँ पटक नोमीनेसनमा परेकी छिन् । त्यसै चलचित्रमा उनकी बुहारी बनेकी साइट्रीयोना बाफे भने मनोनयनमा पर्न असफल रहिन् । उनलाई भने दाबेदार मानिएको थियो ।

उत्कृष्ट सह अभिनेत्रीको मनोनयनमा आइरिस स्टार बुकली अर्को आश्चर्यजनक नाम हो । ‘द लस्ट डटर’मा ओलीभीया कोलम्यानको चरित्रको युवा अवस्थाको भूमिकामा रहेकी उनलाई पनि मनोनयनमा पारियो ।

पावर अफ डगलाई छनोटकर्ताहरूले अपेक्षा गरिए भन्दा बढी नै मन पराएको पाइयो । ड्युनलाई पनि समीक्षकहरूले अनुमान गरेको भन्दा बढी मन पराएको पाइएको छ । डेनिस भिलेन्युभ मनोनयनमा नपरे पनि अन्य १० विधामा मनोनयनमा पर्नु त्यस फिल्मको सफलताको मानिएको छ ।

लस एन्जलसमा मङ्गलवार आयोजित कार्यक्रममा एलीस रोस र लीसे जोर्डनले मनोनयनमा पर्नेको नाम घोषणा गरेका थिए । युवा दर्शकबाट मन पराइएका फिल्मका लागि मनोनयनमा पर्न धेरै दबाब रहेको थियो । कोभिडको कारण लक डाउन भएकाले धेरै फिल्म रिलिज नभएका यस वर्ष मनोनयनमा केही कठिनाइ पनि नभएको होइन ।

एकेडेमीले यस वर्ष कार्यक्रम आयोजना गर्ने त जनाएको थियो । तर, कसरी यो सम्भव हुन्छ भन्ने बारेमा कुनै जानकारी गराएको थिएन । यो वर्ष २७ मार्चका दिन भव्य कार्यक्रमका बिच ओसकार अवार्डको घोषणा हुने अहिले तय भई सकेको छ ।

यो अवार्ड घोषणा हुँदा कुन चलचित्रले कत्ति अवार्ड पाउने भन्ने त अनिश्चित नै छ । परन्तु, ‘द पावर अफ द डग’का कारण संसारका ड्रामा फिल्मलाई एउटा उचाइ दिएको छ ।

यस फिल्ममा न्युजील्यान्डको ग्रामीण क्षेत्र ओटागोको दृश्यहरूलाई पनि प्रस्तुत गरिएको छ, जुन साँच्चै मन मोहक छ । न्युजील्यान्ड, अस्ट्रेलिया, बेलायत, अमेरिका र क्यानडाको लगानी रहेको यस चलचित्र २ सेप्टेम्बर का दिन भेनाइस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

७९ औ गोल्डेन ग्लोब अवार्डका लागि सात विधामा मनोनयनमा परेको यस चलचित्र अर्को वर्षसम्म एक पछि अर्को सनसनी फैलाउने अनुमान गरिएको छ ।

– एजेन्सीको सहयोगमा