अन्तर्राष्ट्रिय

रूस र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने

By खबरहब

February 10, 2022

काठमाडौँ– युक्रेनसँग सीमा विवाद चर्किरहेको बेला रुसले बेलारुससँग सैन्य अभ्यास सुरु गरेको छ । रुस र बेलारुसले बुधबारदेखि १० दिने संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।

रुसका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सैन्य अभ्यासको उद्देश्य रक्षात्मक अपरेशन सञ्चालन गर्दै, आतंकवादको सामना गर्ने र संघ राज्यको हितको रक्षा गर्ने रहेको जानकारी दिएका छन् ।

सो अभ्यासमा ३० हजार रूसी सेनाले भाग लिने बताइएको छ । रुसले बेलारुससँग संयुक्त रुपमा गर्न लागेको यो सैन्य अभ्यास शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास रहेको नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले बताए ।

रुस र युक्रेनबीच भइरहेको तनावकाबीच यस्तो विषय बाहिर आउनु राम्रो नभएको र तनावलाई अझ बढाउने कोसिस भएको अमेरिकाले जनाएको छ । यो विषयमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने युरोपले दशकयताकै सबैभन्दा ठूलो सुरक्षा संकटको सामना गरिरहेको बताए ।