समाचार

धनुषामा स्थानीय तहका अस्पताल शिलान्यासमै सीमित

By खबरहब

March 10, 2022

जनकपुरधाम– तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए । २०७७ मंसिरमा एकै साथ विभिन्न चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनि शिलान्यास गरिएको थियो । तर ती अस्पताल शिलान्यासमै सीमित भएका छन् ।

सबैला, धनुषाधाम, क्षीरेश्वरनाथ, शहीद नगर, विदेह, मिथिला विहारी, हंशपुर नगरपालिका तथा औरही, बटेश्वरलगायतका गाउँपालिकाले १० देखि १५ शैयाका सुविधा सम्पन्न अस्पताल निर्माणका लागि शिलान्यास गरेका थिए ।

धनुषाधाम नगरपालिकाले १५ शैयाको अस्पतालका लागि फाउन्डेसन तयारी गरे पनि बाँकी स्थानीय तहले काम नै गर्नसकेका छैनन् । ‘पहिलो चरणको काम सम्पन्न भई ठेकेदारहरूको भुक्तानीसमेत भइसकेको छ, दोस्रो चरणको कामका लागि बजेटको सुनिश्चितता भएसँगै अस्पतालको कामलाई गति दिन्छौं,’ धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले भने ।

सबैला नगरपालिका मेयर विजयशंकर साहले झन्डै १० करोडको लागतमा निर्माण हुने अस्पतालका लागि जग्गाको व्यवस्थापन गरी शिलान्यास भएको बताए । ‘अस्पतालको डीपीआर तयार भयो तर मोबिलाइजेसनको रकम नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नपठाउँदा काम अगाडि बढ्न सकेको छैन । त्यसैले अहिले शिलान्यास गरेर त्यतिकै छाडेका छौ,’ उनले भने ।

हंशपुर नगरपालिकाले १० शैयाको अस्पताल निर्माणका लागि पटक–पटक टेन्डर गरिसकेको छ । तर मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण काम अगाडि बढ्न सकेको छैन । ‘अस्पताल निर्माणका लागि तीन महिनाअघि नै टेन्डर निकालिसकेका थियौं । तर प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । नयाँ आएका प्रशासकीय अधिकृतले पुनः अर्को टेन्डर गरे । त्यो पनि भएन । फेरि नयाँ टेन्डर गरियो । एउटै योजनाको तीनपटक टेन्डर गरियो । तर काम भने हुन सकेन,’ नगरपालिका मेयर रामज्ञान मण्डलले भने ।

क्षीरेश्वर नगरपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको छ । तर जग्गाको विषयमा नगरपालिका कार्यपालिकामै विवाद भएकाले अहिलेसम्म टेन्डरसमेत हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले बताए ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतमाथि नै अख्तियारमा मुद्दा परेपछि काम रोकिएको छ । शहीद नगर नगरपालिकाको पनि उस्तै अवस्था छ । मेयर उदय बरबरियाले सुरुमा जग्गासम्बन्धी विवादका कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए । ‘भर्खर टेन्डर भई सम्झौता गरेर काम अगाडि बढाएका छौ । पहिलो चरणको काम सम्पन्न भएपछि मात्रै दोस्रो चरणको काम गर्छौं,’ उनले भने ।