अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

March 10, 2022

अडियोमा सुन्नुहोस्

आज फागुन २६, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यस प्रकार रहेका छन् :

विधानसभाको मतपरिणाम आयो

भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आएको छ । भारतका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम सार्वजनिक भएको हो ।

भारतीय सञ्चारमाध्यमले सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याएको जनाएका छन् ।

टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको नतिजा अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले कूल ४०३ सिट मध्ये २५० सिट ल्याएको उल्लेख गरेको छ । उत्तर प्रदेशमा सरकार बनाउन २०२ सिट भए पुग्छ ।

यस्तै दोश्रो स्थानको समाजवादी पार्टीले केबल ११४ सिट ल्याएको जनाइएको छ । तेश्रो भएको कंग्रेस पार्टीले केबल ३ सिटमा चित्त बुझाउनु परेको छ ।

उत्तर प्रदेशमा गत १० फेब्रुअरी देखि ७ मार्च सम्म ७ चरणमा मतदान भएको थियो । त्यस्तै, दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ ।

२० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९२ सिटमा जित हासिल गरेको छ । त्यहाँ सरकार बनाउन केवल ५९ सिट भए पुग्छ ।

दोस्रो स्थानको कंग्रेस पार्टीले १८ सिट मात्रै जितेको छ । तेश्रो स्थानको शिरोमणी अकाली दलले ३ सिटमा चित्त बुझाएको छ । केन्द्र सरकार चलाइरहेको बीजेपी भने केबल २ सिटमा सीमित भएको छ ।

आपको जितसँगै पन्जाबमा भगवन्त मनको नेतृत्वमा आपले नयाँ सरकार बनाउने जनाइएको छ । उत्तर प्रदेशसँगै भारतीय जनता पार्टीले मणिपुर, उत्तराखण्ड र गोवामा भएको निर्वाचनमा पनि जित निकालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनको बाल अस्पतालमा रुसी आक्रमण

रुसले युक्रेनको बाल अस्पतालमा बम हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत् भिडियो सार्वजनिक गर्दै रुसी फौजले मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी बम आक्रमण गरेको जनाएका हुन ।

उक्त बाल अस्पताललाई लक्षित गरी रुसी फौजले ‘धेरै पटक’ बम आक्रमण गरेको मारिउपोलको नगर परिषद्ले जनाएको छ । आक्रमणमा १७ जना घाइते भएको बताइएको छ ।

उक्त अस्पतालमा आक्रमण हुँदा विष्फोटको तरंग एक माइल टाढासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।युक्रेनी पक्षले रुसको आक्रमणलाई ‘कुनै औचित्य बिनाको युद्ध अपराध’ को संज्ञा दिएको छ । ‘आज रुसले ठूलो अपराध गरेको छ ।’ आक्रमणले ध्वस्त भएको अस्पतालको भग्नावशेषमा रहेका स्थानीय प्रहरी अधिकारीले बताएका छन्, ‘यो कुनै औचित्य बिनाको युद्ध अपराध हो ।’

सामाजिक सञ्जालमा जारी गरिएका भिडियोमा उद्धारकर्ताहरू आक्रमणको चपेटामा परेको भवनको भग्नावशेषबाट गर्भवती महिला, रक्तस्राव भइरहेकी सुत्केरी र शिशुहरूलाई स्ट्रेचरमा हालेर बाहिर निकालिरहेको देख्न सकिन्छ ।

रुसले नरसंहार गरेको युक्रेनी राष्ट्रपतिको आरोप

रुसले बाल अस्पतालमाथि आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै रुसले युद्ध अपराध गरेको आरोप लगाएका हुन् ।

रुसी भाषामा बोल्दै जेलेन्स्कीले भने ‘हामीले यस्तो युद्ध अपराध लुगान्स्क, डोनेत्स्क वा अरु कुनै क्षेत्रमा पनि गरेका छैनौँ‘ किनकी हामी मानव हौँ । तर के तपाईँहरु मानव हो ?’

‘प्रसुती गृह र अस्पतालहरुदेखि डराएर ध्वस्त पार्ने रुस कस्तो किसिमको देश हो ?’ उनले प्रश्न गरेका छन् । जेलेन्स्कीले यस ‘नरसंहार’ लाई रोक्न रुसविरुद्ध अझ कठोर नाकाबन्दी लगाउनुपर्ने समेत बताएका छन् ।

यता रुसले भने युक्रेनका ‘राष्ट्रवादी दस्ताहरु’ ले अस्पतालका कर्मचारीलाई बाहिर निकालेर त्यसलाई गोली हान्ने ठाउँमा परिणत गरेको आरोप लगाएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यस्तो आरोप लगाएकी हुन् ।

राष्ट्रपति जेलेन्स्कीले मारिउपोल शहरस्थित उक्त अस्पतालमा भएको आक्रमणमा १७ जना घाइते भएको र ध्वस्त भएको भवनको भग्नावशेषमा जीवितहरुको खोजीकार्य जारी रहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले पनि आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै सर्वसाधारणहरुले युद्धको ठूलो मूल्य चुकाउनु परेको भन्दै रक्तपात अन्त्य गर्न समेत आह्वान गरेका छन् ।

सुँगुरको मुटु प्रत्यारोपण गराएका बिरामीको मृत्यु

मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै गएको बताइएको छ ।

उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनको शरीरमा गत जनवरी ७मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरू दशकौँदेखि जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गरी बिरामीको जीवन रक्षाको प्रयासमा रहेपनि सफल हुन सकेका थिएनन् । तर, मानवको मुटु प्रत्यारोपण गर्न अयोग्य रहेको, ओच्छ्यानमा सुतिरहनुपर्ने र लाइफ सपोर्टमा रहिरहनुपर्ने भएकाले उक्त अस्पतालका चिकित्सकहरूले बेन्नेटलाई जनावरको मुटु प्रत्यारोपण गर्न योग्य प्रत्यासी ठानेका थिए ।

भविष्यमा जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गर्ने प्रविधिको विकास भएको खण्डमा यसले चिकित्सकीय क्षेत्रमा नवीन परिवर्तन ल्याउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

युक्रेनमाथि रुसले आक्रमण गरेयता दुई साताको अवधिमा झण्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकाले अनुमान गरेको छ । नाम नबताउने शर्तमा एक वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले सीबीएसलाई बताए अनुसार युक्रेनमा दुई साताको अवधिमा झण्डै ५ हजार देखि ६ हजार रुसी सैनिकको मृत्यु भइसकेको छ ।

त्यस्तै, आक्रमणका क्रममा अरु १५ देखि १८ हजारसम्म रुसी सैनिक घाइते भएको हुनसक्ने जनाइएको छ । प्रायः युद्धका क्रममा मृतकभन्दा घाइते हुनेको सङ्ख्या तीन गुणा हुने गर्छ ।

मृतक र घाइते हुनेहरुको अनुमानित सङ्ख्याले रुसले त्यहाँ ठूलो क्षति ब्यहोरि रहेको देखिएको बीबीसीले जनाएको छ ।

युक्रेनले आक्रमणका क्रममा १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । अघिल्लो सातामात्रै रुसले युक्रेनमा ५ सय भन्दा कम सैनिक मारिएको जनाएको थियो ।

यद्यपि दुबै पक्षको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

मेक्सिकोमा १० जनाको गोली हानी हत्या

मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीमा गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ ।

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् ।

पुएब्ला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ । मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मारिएकाहरुको पहिचान हुन सकेको छैन ।

युक्रेनमा जैविक हतियारबारे रुसले भ्रम फैलाएको अमेरिकाको आरोप

युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक जीवाणुहरू फैलाएको आरोप लगाएका थिए।

क्रेमलिनले जानाजान अमेरिका र युक्रेनले रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको अमेरिकी आरोप छ ।

त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । यसअघि रुसले युक्रेनमा ३० भन्दा धेरै जैविक प्रयोगशालाहरु रहेको र ती प्रयोगशालाहरु जैविक हतियार विकास गर्न प्रयोग भइरहेको हुनसक्ने बताएको थियो ।

नेटो सदस्यताका लागि युक्रेनले दबाब नदिने

रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।

युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण उनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् । पुटिनले पश्चिमा देशहरुलाई उत्तेजक आणविक धम्की दिएकोसमेत उनीहरुले आलोचना गरेका छन्।

यसैबीच, युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरुको प्रतिबन्धपछि मस्कोमा उर्जा संकट देखिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएको हो ।

युक्रेन पुटिनले कहिल्यै जित गर्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए । त्यस्तै बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ ।

पुटिनले डिनरमै आफ्नो हात समाउन खोजेको ब्राजिलकी सुन्दरीको आरोप

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मिस बमबम सुजी कोर्टेजबीच सन् २०१८ मा भेट भएको थियो । रुसले विश्वकप आयोजना गरेको उपलक्षमा पुटिनले उनलाई रुस बोलाएका थिए ।

ब्राजिलमा हरेक वर्ष उत्कृष्ट नितम्ब भएकी सुन्दरीलाई मिस बमबमको उपाधि दिने गरिन्छ । त्यसबेलाकी मिस बमबम सुजी कोर्टेज ब्राजिलको फुटबल महासंघ सीबीएफको मध्यस्थतामा रुस पुगेकी थिइन् ।

भेटवार्ताका क्रममा पुटिनसँग सुजीले डिनर गरेकी थिइन् ।उनले पुटिनसँगको उक्त डिनरमा आफूलाई असहज महशुस भएको अनुभव यतिबेला खुलासा गरेकी छिन् ।

जाम प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘पुटिनले मेरो हात समात्न खोजे र केही मिनेटसम्म मलाई एकतमासले हेरिरहे । म केही आत्तिन पुगेँ ।’ ‘पुटिन गद्दीमा बसेजस्तै बस्दा रहेछन् । उनले मलाई केही भन्नु परे आफ्ना सचिवलाई भन्न लगाउँथे । अनि उनका सचिव आएर मलाई पुटिनले भन्न चाहेको कुरा सुनाउँथे ।’ उनले भनिन् ।