काठमाडौं- एनसेलले लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।
एनसेलले खेल मैदानमा विभिन्न सुविधाहरू सहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरेको जनाएको छ ।
खेल मैदान पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरेसंगै पहिलो खेलको रुपमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको थियो ।
खेल मैदान ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको छ । साथै खेल मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।
स्थानीय समुदाय र वडा नं. २६ को अनुरोध अनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।
एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धता अनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए ।
एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ, उनी भन्छन्, “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पुर्याएको छ ।
जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायुलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ ।
एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयो गलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको छ । एनसेलका सधै स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र प्राथमिकतामा प्राथमिकतामा राखेको बताएको छ ।