क्रिकेट

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित

By खबरहब

April 10, 2022

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित दर्ता गरेको छ । पुनेमा भएको खेलमा बैंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै पुरा गरेको हो ।

बैंगलोरका लागि अनुज रावत ६६, विराट कोहलीले ४८ रन बनाए भने कप्तान फाप डु प्लेसिस १६ रनमा समेटिए । मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एकएक विकेट हात पारे ।

२० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६ रन जोडे । बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । अंक जोड्न नसकेको मुम्बईको यो चौंथो हार हो ।