तस्वीर- ट्विटर/एएनआई

अन्तर्राष्ट्रिय

सरकारी अधिकारीको भेषमा चोरहरूले ६० फिट लामो फलामे पुल चोरेपछि…

By खबरहब

April 10, 2022

काठमाडौं– हामीले चोरहरूले पैसा, गहना, मोटरसाइकल चोरेको त सुनेका छौँ । तर भारतको बिहार राज्यमा भने चोरहरूले सिङ्गो पुल नै चोरेर लगेका छन् ।

हिन्दुस्तान टाइम्सले जनाएअनुसार बिहारको रोहतस जिल्लास्थित विक्रमगञ्ज उपजिलाको अमियावर गाउँमा चोरहरुले ६० फिट लामो फलामे पुल चोरेर लगेका हुन् ।

सन् १९७२ मा अरा नहरमाथि बनाइएको उक्त पुल १२ फिट अग्लो रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रहरीका अनुसार चोरहरु पिकअप भ्यान, ग्यास कटर, जेसीबी र अरु उपकरणसहित आएका थिए । चोरहरुलाई उक्त पुल काट्न तीन दिनको समय लागेको थियो ।

सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार केही चोरहरुले आफूहरूलाई सरकारी अधिकारी बताएका थिए ।

प्रहरीका अनुसार चोरहरुले पुल उखेलेर लैजान स्थानीय सरकारी अधिकारीको समेत सहयोग लिएका थिए ।

पछि चोरहरुले झुक्याएको थाहा पाएर स्थानीय सिँचाइ विभागका अधिकारीहरुले नस्रिगञ्ज प्रहरी चौकीमा उजुरी दिएका थिए ।