तस्वीर- ट्विटर/पाकिस्तानी संसद्

अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने

By खबरहब

April 10, 2022

काठमाडौं- नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने भएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार आइतबार नयाँ प्रधानमन्त्रीको मनोनयन हुनेछ भने सोमबार मतदान हुनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज आइतबार दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गरिने र दिउँसो ३ बजेसम्म मनोनयन उपर छानबिन हुने जनाएको छ ।

उनले सोमबार बिहान ११ बजे संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल– एन) का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने  निश्चित प्रायः रहेको बताइएको छ ।

यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

कूल ३४२ सदस्यीय सदनमा अविश्वास प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए ।