अपराध

३५ किलो गाँजासहित मकवानपुरमा पाँच जना पक्राउ

By खबरहब

April 10, 2022

हेटौंडा– मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा बस चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

चितवनबाट हेटौंडा आउँदै गरेको बा ८ ख ८१०६ नम्बरको बसको सिटमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मोक्तान, २५ वर्षीय यमराज मोक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् । थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।