तस्वीर- ट्विटर/पाकिस्तानी संसद्

अन्तर्राष्ट्रिय

पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता

By खबरहब

April 10, 2022

काठमाडौं– पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनका लागि दुई मनोनयन परेको छ ।

नयाँ प्रधानमन्त्री बन्नका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका अध्यक्ष शहबाज शरिफ र इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरैशीले मनोनयन दर्ता गराएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि संसद् सचिवालयले आवेदकले दिउँसो दुई बजेसम्म नयाँ प्रधानमन्त्रीको मनोनयन दर्ता खुला गरेको थियो । यद्यपि पीटीआईले मनोनयन प्रक्रिया ढिला गरी शुरु गर्न गरेको आग्रहलाई सचिवालयले अस्वीकार गरेको थियो ।

नयाँ प्रधानमन्त्री चयन गर्न भोलि सोमबार दिउँसो २ बजे संसद् अधिवेशन डाकिएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार कुनै आश्चर्य नभए शरिफ प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।

पाकिस्तानमा सरकार बनाउन पाकिस्तानी संसद्‍मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट चाहिन्छ । यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।