तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

इमरान खानको पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिने

By खबरहब

April 10, 2022

काठमाडौं– निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार आफ्ना सबै सांसदहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

राजधानी इस्लामावादमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा फवाद चौधरीले यस्तो घोषणा गरेको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । यसअघि इमरान खानसहित पार्टीका शीर्षस्थ नेताहरुले वर्तमान अवस्थाबारे छलफल गरेका थिए ।

उक्त बैठकले पीटीआईका सबै सांसदले सामूहिक राजीनामा दिने निष्कर्ष निकाल्दै यसबारे इमरान खानलाई सल्लाह दिएको बताइएको छ ।

संसद् सचिवालयले नयाँ प्रधानमन्त्री छान्ने प्रक्रियाका लागि पाकिस्तान मुस्लिन लिग नवाज पीएलएम–एनका अध्यक्ष शहबाज शरिफको मनोनयन दर्ता गराएपछि फवाद चौधरीको यस्तो भनाइ आएको हो । यसअघि शरिफको मनोनयनप्रति पीटीआईले आपत्ति जनाएको थियो ।

‘शहबाज शरिफको मनोनयन पत्रबारे हाम्रो आपत्तिको सम्बोधन नभएको खण्डमा हामी भोलि राजीनामा दिनेछौँ ।’ चौधरीलाई उद्धृत गर्दै डनले जनाएको छ ।