अडियो सुन्नुहोस्ः
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई हटाउने सरकारको निर्णय गलतः एमाले नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएको भन्दै कारबाही गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले चाहेको भए अर्थतन्त्र सही दिशामा जाने भएपनि त्यसो हुन नसकेको बताएका छन् । त्यस्तै पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट बनाउने समय हुन लागेका बेला राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो त्रुटि भएको बताए । त्यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धराशायी हुँदा ध्यान दिन नसकेको बताए ।
आर्थिक क्षेत्रका विज्ञहरूबीच खबरहब बहसमा छलफल नेपालको अहिलेकोअर्थतन्त्रको विषयमा आर्थिक क्षेत्रमा सम्बन्धित व्यक्तिहरूबीच छलफल भएको छ । आर्थिक अवस्था, अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदम, अर्थतन्त्रमा देखिएको संकट समाधानको लागि विभिन्न आर्थिक क्षेत्रमा सम्बन्धित व्यक्तिहरूबीच खबरहब बहसमा छलफल भएको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न आर्थिक क्षेत्रमा सम्मिलित व्यक्तिहरूले नेपालको आर्थिक अवस्थाको बारेमा जानकारी दिँदै समस्या समाधानका विषयमा जानकारी दिएका थिए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको ऋण प्रवाह बढेको बताए । त्यस्तै कार्यक्रममा अर्थविद डा. रविन्द्र पाण्डेले बजारमा तरलताको अभाव रहेको भन्दै छलफल गरेर यसको मुख्य विषय पहिल्याउन जोड दिए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले प्रधानमन्त्री बाबुराम भट्टराईले राजस्व उठाएको तर त्यसपछिका सरकारले त्यो लक्ष्य भेटाउन नसकेको भनाई राखे । । सो कार्यक्रमको आयोजना पेभेलियन ग्रुप, आईएसएस आर र खबरहब मिडियाले गरेको हो ।
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्छः सभामुख सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र निजी क्षेत्रले बृहत् छलफल र संवाद गरेर समाधान गर्नुपर्ने बताए । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरूलाई पनि संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ ।
गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा भोलि संयुक्त अपिल जारी गर्ने सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गरेको छ । सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा भोलि संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ । सत्तारुढ गठबन्धनको बैठक भोलि बिहान ९ बजे बस्नेछ ।
देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको छः ओली नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको दाबी गरेका छन् । आज नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै हुन लागेको बताए । देशको अर्थतन्त्र सकंटमा जादा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले तर्क गरे । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिने उनले जिकिर गरे । राप्रपालाई असफल हुने छुट नभएको अध्यक्ष लिङ्देनको भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताए । यस्तै लिङ्देनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए । सीमित नेताहरूले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनको भनाइ छ ।
नेपालको संयोजकत्वमा १ हजार १११ परिचालन समिति गठन नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज सम्पन्न भएको केन्द्रीय सचिवालयको बैठकले १ हजार १११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवम् सदस्यहरू, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष जनसंगठनका केन्द्रीय पदाधिकारी रहने छन् । यस्तै बैठकले सबै पालिकामा उम्मेदवारहरू सिफारिस गर्न निर्णय पनि गरेको छ ।
नेपाली सेनाद्वारा ५ सय ९० नाल हतियार सशस्त्र प्रहरी बललाई प्रदान नेपाली सेनाले सशस्त्र प्रहरी बल, नेपाललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिशन सामाग्रीहरू प्रदान गरेको छ ।आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय नाल र एलएसडब्ल्यू ९० नाल र सोको एम्युनिशन सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो । सशस्त्रलाई नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि सरकारको निर्णय अनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो ।
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको जिल्ला कमिटीको बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको नेता कृष्णभक्त पोखरेलले जानकारी दिए । २०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता देवी ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । सुवेदी यसअघि नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए ।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु भएको छ ।नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गरेसँगै सुरु भएको हो । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहिआएको छ ।
‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा यसै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ८ सय पीसीआर परीक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् ।हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्छः मुख्यमन्त्री राईले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’को आज समापन गर्दै मन्त्री राईले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिँदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
सेयर बजार परिसूचक नेप्सेमा साताको कारोबारको पहिलो दिन हरियाली शेयर बजार परिसुचक नेप्सेमा साताको कारोबारको पहिलो दिन आज हरियाली छाएको छ । नेप्से आज ३५ दशमलव ६९ अंकले बढेर २ हजार ४ सय ६४ दशमलव ३५ विन्दुमा पुगेको हो ।आज कारोबार रकममा पनि बृद्धि भएको छ । आज ५४ लाख ४७ हजार ७ सय ३८ कित्ता शेयर कुल २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ । आज नेस्डो समृद्धि लघुवित्त र हिमालयन पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
मकवानपुरमा ३५ किलो लागूऔषध गाँजासहित ५ जना पक्राउ मकवानपुरमा ३५ किलो लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, राप्ती नगरपालिका–११ का २५ वर्षीय सूर्य बहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मोक्तान, २५ वर्षीय यमराज मोक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् । अवैध लागूऔषध ढुवानी भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३५ केजी लागूऔषध गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
झापामा चट्याङ लागेर एक जना महिलाको मृत्यु झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मन माया थापा रहेकी छन् ।घर नजिकै काम गरिरहेको अवस्थामा आज दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।