समाचार

‘म घोषणा गर्छु नेपाल हिन्दू राष्ट्र हो’ : जगद्‍गुरु शंकराचार्य

By खबरहब

April 10, 2022

जनकपुरधाम– जगद्‍गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र नै रहेको दाबी गरेका छन् ।

जनकपुरधामको दुईदिने भ्रमणमा रहेका जगद्‍गुरु शंकराचार्यले आइतबार भएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल हिन्दू राष्ट्र रहेको जिकिर गर्दै यसका लागि कुनै नेताको आवश्यकता नभएको बताएका हुन् ।

नेपाल हिन्दू राष्ट्र हो भनेर उनले आफै घोषणा नै गरे ।

‘नेपाल हिन्दू राष्ट्रका रूपमा घोषित होस् । कुनै नेताको आवश्यकता छैन । म घोषणा गर्छु कि नेपाल हिन्दू राष्ट्र हो ।’ जगदगुरु शंकराचार्यले भने, ‘तपाईँहरू कसैको प्रतीक्षाको नगर्नुस् । नेपाल हिन्दू राष्ट्र हो, हो नै ।’

उनले नेपाल र भारतबीचको सांस्कृतिक धरातलमा एकरुपता रहेको भन्दै नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने पनि बताए ।

उनले चीनको चंगुलमा नेपाल फस्न नहुने पनि बताए । यसका लागि नेपाल सावधान रहनुपर्ने उनको भनाइ छ ।

शंकराचार्यले भारत र नेपालले आफूलाई हिन्दू राष्ट्र घोषणा गरे मरिससलगायत १५ वटा देशले एक वर्षभित्र हिन्दू राष्ट्र घोषणा गर्ने दाबीसमेत गरेका थिए ।

सम्मेलनमा सहभागी साधु–सन्त तथा हिन्दू अभियानीहरूले नेपाल हिन्दू राष्ट्र भएरै छाड्ने दाबी गरेका थिए ।

दुई दिनका लागि जनकपुरधाम आएका जगद्‍गुरु शंकाराचार्य सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।