राजनीति

मकवानपुरमा निर्वाचनको तयारी पूरा

By खबरहब

May 10, 2022

हेटौँडा – मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्लाको दशवटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा कर्मचारीहरू खटिएका छन् । जिल्लामा एक सय दुईवटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन सम्पन्न गराउन जिल्लाभरि एक हजार आठ सय कर्मचारीहरू खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थलहरूमा मंगलबारबाट निर्वाचन अधिकृतसहितका कर्मचारीहरू खटिँदैछन् भने विकट गाउँपालिकाका मतदान केन्द्रमा भने सोमबार नै मतदान अधिकृतहरु खटिइसकेका छन् ।

मंगलबार बेलुकासम्म कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिकाअनुसार काम गर्न थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । मकवानपुर जिल्लामा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता रहेका छन् ।

स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा तीन हजार दुई सय सुरक्षाकर्मी खटिँदैछन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार चार सय ७३ जना म्यादी प्रहरी, पाँच सय जना नेपाली सेना, चार सय जना सशस्त्र प्रहरी, नौ सय जना नेपाल प्रहरी खटाइने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

मतदान केन्द्रभित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिर सेना खटाइने उनले बताए ।