तस्वीर- लोवी इन्स्टिच्युट

अन्तर्राष्ट्रिय

विश्वमा चीनको दबदबा कमजोर बन्दै

By खबरहब

May 10, 2022

काठमाडौं– आर्थिक तथा सैन्य क्षेत्रमा चीनको अन्तर्राष्ट्रिय दबदबा विस्तारै कमजोर हुँदै गइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय विश्लेषक तथा चीनलाई नियाल्दै आएको बुद्धिजीवीहरू चीनको गतिशीलता सुस्त हुँदै गएको विश्वास गर्छन् । केही सूचकांकले चीनको अधोगति शुरु भएको देखाउँछन् ।

कोरोना भाइरसको महामारीले चिनियाँ अर्थतन्त्रको स्तम्भ उत्पादनमूलक क्षेत्रमा नराम्रो असर पारेको छ । त्यसबाहेक बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत अन्य मुलुकहरूलाई दिएको ऋण उठाउन नसक्दा चीनको अर्थतन्त्रमा नकारात्मक असर पुगेको हो । यसबाहेक विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनमा ठूलो सम्पत्तिको संकट देखा परेको छ । केही समय अघिमात्रै चीनको एभरग्राण्ड नामक घरजग्गा कम्पनी टाट पल्टेको थियो । 

यस्तै, सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले कोरोना भाइरसको महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेका कारण पनि आर्थिक गतिविधिमा असर परेको छ ।सूचकांकहरुले उत्पादनमूलक क्षेत्रमा चीनको अवस्था कमजोर हुँदै गएको देखाउँछन् । पर्चेजिङ म्यानेजर्स इण्डेक्स पीएमआई नामक उत्पादनमूलक क्षेत्रको प्रमुख सूचकांकमा चीनको स्तर खस्किँदै गएको छ । 

अप्रिल महिनामा चीनको पीएमआई ४७ दशमलब ४ विन्दुमा पुगेको छ । मार्च महिनाको तुलनामा यो २ दशमलब १ को गिरावट हो । यसबाहेक अप्रिल महिनामा चीनको पीएमआई सूचकांक दुई वर्ष यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको जनाइएको छ । ‘उद्योगहरुको …उत्पादन र गतिविधि प्रभावित भएका छन् ।’ चीनको राष्ट्रिय तथ्यांक ब्युरोका वरिष्ठ तथ्यांकशास्त्री झाओ चिङ्हेले भने ।

चीनको ‘शून्य कोभिड’ नीतिले अझ असर थपेको छ । यसबाहेक यो वर्षको पहिलो त्रैमासिकमा चीनको कूल ग्राहस्थ उत्पादन ४ दशमलब ८ प्रतिशतले बढेको भन्ने सरकारी तथ्यांकमा पनि प्रश्न उठ्ने गरेको छ ।

अन्तर्राष्ट्रिय नीति थिंक ट्यांक लोवी इन्स्टिच्युटका अनुसार चीनले सामना गरिरहेका आर्थिक चुनौति एवम् जोखिमले संकट उत्पन्न हुने खतरा पनि छ । यसबाहेक चीनको जनसंख्या ह्रास, पुँजीगत वृद्धिको सीमितता र उत्पादन क्षमताको ह्रासका कारण दीर्घकालमा चीनको चुनौति थपेको जनाइएको छ । ‘निरन्तरको नीतिगत सफलताका बावजुद हाम्रो प्रक्षेपण अनुसार चीनको आर्थिक वृद्धि सन् २०३० सम्म २ प्रतिशतमा पुग्ने र सन् २०४० सम्म २ प्रतिशतमा झर्ने छ । सन् २०५० सम्म चीनको आर्थिक वृद्धिदर औसतमा २–३ प्रतिशत हुनेछ ।’ लोवी इन्सटिच्युटको विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

चीनको घरजग्गा व्यवसायी कम्पनी एभरग्राण्डसँग ३ खर्ब डलर बराबरको दायित्व छ । त्यसैले यो कम्पनी टाट पल्टेको खण्डमा चीनको अर्थतन्त्रमाथि नै नकारात्मक असर पर्नेछ । चीन सरकारले घरजग्गा क्षेत्रलाई सहायता प्रदान गर्न सहज ऋण, उदार मौद्रिक नीति र लगानीकर्ताहरूलाई आकर्षित गर्ने पहल गरिरहेको छ । यद्यपि चीनमा घरजग्गाको बिक्री निरन्तर घटिरहेको छ । सन् २०२२ को मार्च महिनामा वार्षिक अनुपातमा ५२ दशमलब ७ प्रतिशतले घटेको छ ।

कोरोना महामारीका क्रममा लागू निषेधाज्ञा र यसबाट ठूलो संख्यामा रोजगारी गुमेसँगै घर किन्दा लिएको ऋण तिर्न मानिसहरुलाई समस्या उत्पन्न भएको छ । नाटिक्सिसमा आबद्ध अर्थशास्त्री ग्यारी इङ्गका अनुसार यो संकटको प्रभाव वास्तविक अर्थतन्त्रमा नपरोस् भन्नाका लागि चीन सरकारले हरसम्भव प्रयत्न गरिरहेको छ । एक तथ्यांक अनुसार घरजग्गा क्षेत्रले चीनको कूल ग्राहस्थ उत्पादनको झण्डै २९ प्रतिशत हिस्सा ओगट्छ । यसकारण यस क्षेत्रमा परेको असरले चीनको समग्र अर्थव्यवस्थालाई नै संकटतर्फ धकेल्ने बताइन्छ ।

घरजग्गा क्षेत्रको संकटका कारण अर्बपति लगानीकर्ता जर्ज सोरोसले चीनमा लगानी नगर्न सुझाव दिने गरेका छन् । ‘आत्मविश्वासलाई पुनस्थापना गर्नका लागि सी जिन्पिङ्सँग धेरै औजार उपलब्ध छन् – मुख्य प्रश्न के हो भने उनले ती औजारको सही प्रयोग गर्छन् कि गर्दैनन् ।’ सोरोसले भने । ‘गहिरो’ आर्थिक संकटका लागि धेरै प्रतिष्ठित अर्थशास्त्री तथा वित्तीय संस्थाहरुले सी जिन्पिङ सरकारको आलोचना गर्दै आएका छन् । ‘हामी वर्तमान समयमा चिनियाँ अर्थतन्त्र ३० वर्ष यताकै सबैभन्दा खराब अवस्थामा रहेको विश्वास गर्छौँ ।’ ग्लोबल इन्भेष्टमेन्ट फर्मका संस्था वेजियान शानले भने । 

जिन्पिङको ‘सह समृद्धि’ को विचारको आडमा चीनका प्राविधिक कम्पनीहरु अलीबाबा र टेनसेन्टका कार्यालयलाई निशाना बनाइएको छ । यसका कारण चीनको वित्तीय बजारमा नकारात्मक असर पनि पर्न गएको छ । 

यसका कारण कम्पनीहरुले आफ्नो श्रमशक्तिलाई १५ प्रतिशत सम्मले घटाउन बाध्य पारेको बताइएको छ । केही कम्पनीहरुले ३० प्रतिशत सम्म कामदार कटौती गर्न बाध्य छन् । यस्ता नीतिका कारण चीनमा बेरोजगारी समस्या बढ्ने र यसबाट चिनियाँ अर्थतन्त्रलाई प्रभावित बनाउने आँकलनहरु भइरहेका छन् । सोही कारण चीन सरकारले यस्तो बन्देजलाई खुकुलो बनाउँदै गएको छ । 

यसबाहेक चीनले बेल्ट एण्ड रोड इनिसिएटिभका नाममा ३ खर्ब ८५ अर्ब अमेरिकी डलर विकासशील मुलुकहरुलाई ऋण दिएको छ । यद्यपि यस ऋणबाट अपेक्षाअनुसार लगानी उठ्न सकेको छैन । चिनियाँ ऋण लिएका केही मुलुकहरूले उच्च ब्याजदरको आलोचना पनि गरेका छन् । यी सबै नकारात्मक अवस्थाले चीनको अवस्था धराशायी बन्दै जाने देखाएका छन् ।