समाचार

एकल महिलाको आगो लगाएर हत्या, शंकास्पद २ जना पक्राउ

By खबरहब

June 10, 2022

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा एकल महिलाको हत्या गरिएको छ ।

प्रहरीका अनुसार ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले दिएको जानकारी अनुसार घर नजिकैको खरको लुटो (कुन्यू) मा आगो लगाएर ती महिलाको हत्या गरिएको हो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको बताएको छ । यसबारेमा थप अनुसन्धान गर्न दार्चुलाका डिएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ ।

हत्या गरिएका महिलाका श्रीमानको ७ वर्षअघि मृत्यु भइसकेको जनाइएको छ । मृतकका दुई छोरी र एक छोरा रहेका छन् ।

प्रहरीले घटनामा संग्लग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय वीरेन्द्र खडायत र तुला खडायत रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।