तस्वीर- बीबीसी/गेटी इमेज

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा रहेको बारमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु

By खबरहब

July 10, 2022

काठमाडौँ– दक्षिण अफ्रिकामा रहेको एक बारमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको सोवेतोमा रहेको ओर्लान्डो इस्ट नामक बारमा केही बन्दुकधारी प्रवेश गरी जथाभावी गोली चलाएको बीबीसीले जनाएको छ ।

आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी प्रहरीले जानकारी दिएको छ ।

आक्रमणपछि हाल ९ जना घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । घटनाका पीडितहरु १९ देखि ३५ वर्ष उमेर समूहका रहेको विश्वास गरिएको छ ।

दक्षिण अफ्रिकाको गटेङ प्रान्तका प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल एलियास मवेलाले घटनालाई ‘बारमा जाने निर्दोषमाथि क्रुर आक्रमण’ को संज्ञा दिएका छन् ।

दक्षिण अफ्रिकामा बन्दुकधारीले बेलाबेला गोलीकाण्ड मच्चाउँदै आएका छन् । यस्ता घटनामा प्रायः आपराधिक गिरोहको संलग्नता रहने गरेको छ ।