श्रीलंका अहिले चरम आर्थिक संकटमा मात्रै फसेको छैन त्यहाँ अत्यावश्यक वस्तुको अभावसँगै जनताको आक्रोशको पारोले पनि सीमा नाघेको छ । जनजीविकाको न्यूनतम आवश्यकता पनि पूरा गर्न नसकेपछि श्रीलंकालीहरु सरकारप्रति क्रुद्ध बनेका छन् ।
शनिबारमात्रै मुलुकका विभिन्न ठाउँबाट राजधानी कोलम्बोमा आएका प्रदर्शनकारीको आक्रोशित भीड जबरजस्ती राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेसँगै राष्ट्रपति फरार हुन बाध्य भए । अहिले त्यहाँका निरीह राष्ट्रपति गोताबाया राजपाक्षे कहाँ छन् भन्ने कसैलाई थाहा छैन । धेरैको अड्कलमा उनी श्रीलंकाली सेनाको अखडामा कतै लुकेको हुन सक्छन् ।
आक्रोशित प्रदर्शनकारीको भीडबाट जोगिएर राष्ट्रपति भागेको घटनाले इतिहासका विद्यार्थीलाई फ्रान्सेली क्रान्तिको स्मरण गराउँछ । १८ औँ शताब्दीको अन्त्यतिर फ्रान्समा पनि भोकमरी र अत्यावश्यक सामानको अभावले प्रताडित यस्तै क्रुद्ध प्रदर्शनकारीको भीडले पेरिस बाहिर निर्मित भर्साइको आलिसान दरबारमा प्रवेश गरी तत्कालीन फ्रान्सेली नरेश लुई सोह्रौँ र महारानी मरीँ एन्ट्वनेटलाई हायलकायल पारेका थिए । भलै त्यस बेला फ्रान्सेली नरेश जनताको आक्रोशबाट नभागी प्रदर्शनकारीसँगै पेरिस फर्किन राजी भएका थिए । तर, अहिले श्रीलंकाली राष्ट्रपति भने आफैँलाई राष्ट्रपति बनाएका जनताको आक्रोशको सामना गर्न नसकेर भाग्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।
प्रदर्शनकारीको आक्रोशलाई मध्यनजर गर्दै उनी राजीनामा दिन समेत तयार भइसकेका छन् । यसअघि त्यहाँ केही महिनाअघि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका रनिल विक्रमासिंघेले पनि राजीनामा दिन आफू तयार रहेको बताएका थिए । कुशल नेतृत्व प्रदान गरेर मुलुकलाई उकास्नुको सट्टा राजीनामा दिने राजपाक्षेको घोषणाले श्रीलंकामा उनको नेतृत्व पूर्णतः असफल भइसकेको सन्देश दिएको छ ।
त्यस्तै, केही महिनाअघि देशलाई संकटबाट पार लगाउने बाचा गरी प्रधानमन्त्री बनेका विक्रमासिंघेले राजीनामा दिने घोषणा गर्नुले पनि उत्तिकै अर्थ राख्छ । विक्रमासिंघे ५ पटक प्रधानमन्त्री बनिसकेका नेता हुन् । उनीसँग सरकार कसरी हाँक्ने भन्ने राम्रो अनुभव छ । विक्रमासिंघेजस्ता अनुभवी राजनेताले समेत जनताको अपेक्षा पूरा गर्न नसकी राजीनामा दिँदा श्रीलंकाली संकट यसअघि अपेक्षा गरिएभन्दा निकै विकराल रहेको प्रष्ट हुन्छ ।
संकट चुलिरहेका बेला कुशल नेतृत्व दिनुको सट्टा श्रीलंकाली राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिने घोषणा गर्दा यसले अन्तर्राष्ट्रिय समुदायमा र स्वदेशमै पनि राम्रो सन्देश जाने देखिन्न । अझ मुलुकको नेतृत्व परिवर्तन हुँदा नयाँ आउने नेतृत्वले जारी संकटलाई समुचित रूपमा व्यवस्थापन गर्नु पनि अझ धेरै चुनौतीपूर्ण बन्ने देखिन्छ । श्रीलंकाली नेतृत्व परिवर्तनसँगै निकट भविष्यमा श्रीलंकाका दातृ एवम् सहयोगी मुलुकहरूले देखाउने प्रतिक्रिया रोचक हुनेछ । खास गरी अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकजस्ता दातृ निकायसँग वित्तीय सहयोगबारे छलफल भइरहेका बेला नेतृत्व परिवर्तन हुँदा यस्ता छलफलमा पर्ने प्रभाव पनि उत्तिकै अर्थपूर्ण रहनेछ ।
विदेशी मुद्राको चरम अभाव र अत्यावश्यक वस्तुको आयात गर्न कठिनाइ उत्पन्न भएका कारण श्रीलंकालीहरुको आक्रोश उत्कर्षमा पुगेको छ । श्रीलंकाली जनताको आक्रोश यस्तो स्तरमा पुगेको छ कि, प्रदर्शनकारीको भीडले हाकाहाकी कानून एवम् मर्यादा मिचेर राष्ट्रपति निवासभित्र प्रवेश गरी दंगा फसाद गर्दा समेत श्रीलंकाली सुरक्षा बल मूकदर्शक बन्न बाध्य भएका छन् । कोलम्बोको सडकमा अराजकता उत्पन्न भएको छ ।
फलस्वरूप मुलुकमा सुरक्षाका हिसाबले सबैभन्दा संवेदनशील मानिने राष्ट्रपतिको निवासमा सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी प्रवेश गर्दा मुलुकका सर्वोच्च व्यक्तित्व आफैँ भागेर फरार हुन बाध्य भएका छन् । यसले श्रीलंकाली सरकार आफूले बनाएका नियम कानून पालना गराउन समेत असफल भइसकेको देखिएको छ ।
यसअघि पनि प्रदर्शनकारीको आक्रोश खेप्न नसकेपछि राष्ट्रपति राजपाक्षेका दाजु तत्कालीन प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका दिए । प्रधानमन्त्री राजपाक्षेको स्थानमा प्रधानमन्त्री बन्न आएका विक्रमासिंघेले मुलुकलाई संकटबाट पार लगाउने बाचा गरेका थिए । तर, प्रधानमन्त्री पद सम्हालेको केही समयबाट नै उनले निकै निराशापूर्ण अभिव्यक्तिहरू दिन थालिसकेका थिए । केही समयअघिमात्रै उनले आफ्नो मुलुक ‘पूर्ण रूपमा टाट पल्टेको’ घोषणा गरेका थिए ।
त्यस्तै, मुलुकमा एक दिनलाई मात्र पुग्ने पेट्रोल रहेको भन्ने उनको अभिव्यक्तिका कारण पनि श्रीलंकालीहरु आक्रोशित बन्न पुगेका थिए । त्यसपछि त्यहाँ विद्यालय बन्द गर्ने, सातामा बिदा बढाउने, सरकारी जागिर खानेलाई विदेशमा काम गर्न बेतलबी बिदा दिने लगायतका कदम चाल्न श्रीलंका सरकार बाध्य भएको थियो । श्रीलंकाली सरकारका यस्ता निराशापूर्ण एवम् व्यग्र कदमले त्यहाँको अवस्थामा अझै सुधार हुन नसकेको देखिन्छ ।
श्रीलंकामा जारी संकट कहिलेसम्म चल्ने हो अझै स्पष्ट छैन । नेतृत्व फेरिएको खण्डमा श्रीलंकामा सकारात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ । मुलुकमा जारी आर्थिक संकट व्यवस्थापन गरी अराजकता निर्मूल पार्दै मुलुकलाई पुनः विधिको शासनमा फर्काउनु नयाँ नेतृत्वको सानो प्रयासले मात्रै सम्भव हुने देखिँदैन ।