तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

By खबरहब

August 10, 2022

काठमाडौँ- पाकिस्तान नियन्त्रित कश्मीरमा बढ्दो लोडसेडिङ्को विरोधमा प्रदर्शनको आयोजना गरिएको छ ।

जम्मु कश्मीर राष्ट्रिय विद्यार्थी महासंघ जेकेएनएसएफको अगुवाईमा कश्मीरको पुञ्ज क्षेत्रमा विद्युत कटौतीको विरोधमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले आफ्नो क्षेत्रमा लोडसेडिङ बढ्न थालेको र विद्युत महशुलमा सरकारले अतिरिक्त कर लगाएको आरोप लगाएका छन् ।

प्रदर्शनकारीले सरकारले आफूहरुविरुद्ध ज्यादती एवम् राज्य आतंक मच्चाएको समेत आरोप लगाएका छन् । विज्ञप्ति जारी गर्दै महासंघले राजनीतिक प्रतिद्वन्द्वीहरुलाई लक्षित गरी सरकारले धरपकड गरेको आरोप लगाएको छ ।

महासंघले आफ्नो प्रदर्शनमा विभिन्न मजदुर संगठन, विद्यार्थी संगठन एवम् नागरिक समाजको साथ रहेको दाबी गर्दै प्रदर्शनलाई निरन्तरता दिइने जनाएको छ ।

पाकिस्तानमा बढ्दो आर्थिक समस्याका कारण दशौँ लाख मानिसहरुले विद्युत कटौतीको सामना गरिरहेको बताइएको छ ।