ब्रेकिङ स्टोरी

आरोपितलाई बलात्कारी ठहर गर्ने अधिकार मिडियालाई कसले दियो ?

By विना न्यौपाने

September 10, 2022

‘ठग्यो जीन्दगीले ….कहाँदेखि कहाँसम्म लग्यो जीन्दगीले…।’

पछिल्लो समय टिकटकमा भाइरल भएको गीत हो यो । जहाँ नेपाली क्रिकेटर सन्दीप लामिछानेको फोटोे र भिडियो राखेर धेरै टिकटक बनाइएका छन् ।

अकाउन्ट जो सुकैको भए पनि अहिले सन्दीपको फोटो राखेर यो गीतमा धेरै टिकटक बनाएका छन्। अरु सामाजिक सन्जालमा पनि यस्तै फोटो र भिडियो भाइरल भएका छन्। जुन हामीले सजिलै देख्न सक्छौं।

यो देख्दा भन्न मन लाग्यो, होला तपाईं कप्तानको फ्यान हुनुहुन्छ। तर, अनुमति बिना कसैको फोटो भिडियो जथाभावी राख्दा तपाईंलाई के सजाए हुन्छ थाहा छ ?

हुन त नेपालमा कानुन कागजमा नै सीमित छ भन्न पनि सक्नु हुन्छ। तर, यो समस्या तपाईं हाम्रै घरभित्रको हुन्थ्यो भने पक्कै पनि यो काम तपाईंले गर्न सक्नु हुन्थेन। हाम्रो आदत नै बनेको छ कि प्रमाणित नभएको जुनसुकै सूचना जस्तोसूकै सामाजिक संजालमा आयो भने हतार बुझ्न होइन सेयर गर्नु हुन्छ।

यसैको उपज हो, सन्दीप लामिछानेको भाइरल न्युज हो। हुन त यो भन्दा अगाडि पनि हाम्रै नाम चलेका मिडियाले नै हतार हतार गरेर न्युज पोष्ट गरेका उदाहरण छन्। तीन वर्ष अगाडि दसै. नजिकिँदै गर्दा बलात्कार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए।

एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका महराले अदालतबाट पछि सफाई पाए। आफूलाई बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिने महिलाले नै अदालतमा ‘होस्टाइल’ भएर बयान दिएपछि महराले अदालतबाट सफाई पाएका थिए।

अर्को उदाहरण हो, गएको वर्षको फागुन महिनामा जबरजस्ती करणीको जाहेरीका आधारमा कलाकार पल शाह पक्राउ परे। शाहविरुद्ध तनहुँ प्रहरीमा उजुरी परेकै दिन उनको नाम र फोटोसहितको विवरण सञ्चारमाध्यममा भाइरल बनेको थियो।

जतिबेला उनीविरुद्ध तनहुँ प्रहरीमा उजुरी परेको थियो। त्यतिबेला उनी आरोपित मात्रै होइन, अभियुक्त नै बनिसकेका थिएनन्। अभियुक्त भन्न पनि पहिले अदालतमा मुद्दा दायर हुनुपर्छ।

प्रहरीमा जाहेरी परेकै दिन उनलाई बलात्कारी भन्न पाइदैन। तर, हाम्रै प्रतिष्ठित मिडियाले पनि उनलाई बलात्कारीका रुपमा समाचार सम्प्रेषण गरिएका थिए।

अहिले केही दिन भयो, नेपाली क्रिकेट टिमका कप्तान रहेकै बेला सन्दीप लामिछानेविरुद्ध एक किशोरीका तर्फबाट जबरजस्ती करणीको कसुरमा गौशाला प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परेलगत्तै सबैजसो अनलाइन मिडियाले लामिछानेको नाम र फोटोसहित समाचार सार्वजनिक गरे।

जतिबेला प्रहरीमा जाहेरी परेको थियो। त्यतिबेला उनी नैरोबीमा क्यारेवियन प्रिमियर लिग खेल्न पुगेका थिए। नेपालमा उनीविरुद्ध परेको उजुरी एउटा सामान्य जाहेरीमात्रै थियो। जुन गम्भीर थियो। तर, प्रक्रियागत रुपमा त्यो निकै प्रारम्भिक थियो।

उनी यतिबेलासम्म आरोपित व्यक्ति मात्रै हुन्। तर, आरोपित व्यक्तिमात्रै भए पनि यतिबेला सन्दीपलाई मिडिया र सामाजिक सञ्जालमा बलात्कारी नै ठहर गरिसकेको छ। यो केसमा प्रहरीले अनुसन्धान मात्रै गरिरहेको छ।

एउटा प्रारम्भिक अनुसन्धानमा रहेको केशलाई प्रक्रियामा जानु अगाडि नै चर्चित क्रिकेटर रहेका सन्दीपलाई सबैजसो मिडियाले बलात्कारी प्रमाणित गर्ने नाम र फोटो सार्वजनिक गर्ने अधिकार कसले दियो ?

एउटी महिलाले सानो बच्चा काखमा च्यापेर डीएनए परीक्षण नगरी अन्यायमा पारिरहने। न्याय दिलाइदिनु पर्यो भन्दै दिनरात हारगुहार गर्दा पनि सुनुवाइ नहुने।

केन्द्रीय राजधानीमा न्यायको भिख मागिरहेकी उनको आवाज न यी नम्बर वान मिडियाले सुन्छन्, न त केन्द्रीय राजधानीको राज्य प्रमुखले सुन्छन् ? न त कुनै न्यायदाताले नै सुन्छन्। सुनोस पनि कसरी, उनीसँग पैसा छैन। उनीसँग बहस गर्ने जमात छैन। अनि उनीलाई साथ दिने न्यायाधीश पनि छैनन्।

तर, अचम्मको कुरा एउटा चर्चित क्रिकेटरकी प्रसंशक बताउने किशोरी साथी बनाएर घुम्न जान्छिन्। किनमेल गर्न जान्छिन्। रमाइलोको लागि सहमतिमा नै होटेलको कोठासम्म पुग्छिन्। जुन कुरा धेरैपछि बलात्कारका रुपमा सार्वजनिक हुन्छ।

सहमतिमै होटेलको कोठासम्म पुगेर शारीरिक सम्पर्क बनाउने कार्यलाई हाम्रो कानुनले कसरी बलात्कारको उपनाम दिन्छ। हुन त यसो भन्दै गर्दा ममाथि अर्को अरोप पनि लाग्न सक्ला, पीडक र आरोपितको संरक्षण गर्ने ?

तर, यो प्रश्न उठ्छ भन्दैमा समाजमा बलात्कार शब्द र त्यसप्रतिको बुझाई अनि कानुनी कमजोरीलाई कसरी व्यक्तिको चरित्र र व्यक्तित्व सिध्याउने काम भइरहेको छ ? भनेर एकपटक राम्ररी सोच्ने बेला आएको छ।

बलात्कार शब्द आफैंमा अपराध हो। एउटी किशोरी वा महिला बलात्कृत हुनु मात्रै अपराध होइन, त्यो हाम्रो समाजको वास्तविक अपराधिक ऐना हो। कुनै पनि किशोरी, युवती र महिला बलात्कृत हुनु भनेको त्यो समाज असुरक्षित हुनु हो।

हाम्रो समाजमा किशोरी, युवती वा महिलाको इज्जत सिसाको भाडा जस्तै हुन्छ भनिन्छ। एकपटक फुट्यो भने फेरि जोड्न मिल्दैन भनेर सिकाइन्छ। जुन आफैँमा निकै पुरानो भाष्य हो।

छोरीलाई सिसाको भाडासँग तुलना गर्ने समाज अनि अभिभावकले छोरालाई किन फलाम बनाइरहन्छ ? किन छोरालाई बलात्कारी बनाइरहन्छ ? छोरालाई अरुको इज्जतमा दाग लगाउनु हुँदैन भनेर किन सिकाउन सक्दैन ?

बिडम्बना सामान्य कुमारित्व परीक्षण गरेर बलत्कार भएको ठहर गर्ने हाम्रो कानुनले नाबालकको डिएनए परीक्षण गरेर उसको बाबा दिलाउन किन सक्दैन ? हामी यस्तो देशका नागरिक हौँ, जहाँ सम्बन्ध, पैसा र पावर हेरेर निर्णय गरिन्छ भन्दा फरक नपर्ला।

नेपाल मात्रै यस्तो एउटा देश हो, जहाँ उजुरीकै आधारमा बलात्कारी ठहर गरिन्छ। नेपालसँग जोडेर बेलायतलाई हेर्ने हो भने बलात्कारजस्ता अपराधमा आरोपितको नाम गोप्य नै राखिन्छ।

जब अदालतबाट दोषी ठहर हुन्छन्, तबमात्रै ती व्यक्तिको नाम सार्वजनिक गरिन्छ। किनभने अहिले नै सबै गोपनीयता बाहिर ल्याइदिँदा भोलि अदालतबाट सफाइ पाए पनि समाजमा बस्नै गाह्रो हुने भएकाले सामाजिक जीवनमा क्षति नहोस् भनेर पनि उनीहरुको नाम गोप्य राख्ने गरिएको छ। तर, नेपालमा कानुन त्यही भए पनि पालना फरक भइरहेको छ।

कुनै व्यक्तिविरुद्ध बलात्कारको उजुरी प¥यो भने मुद्दा अदालत पुग्नुभन्दा अगाडि नै ती व्यक्तिको सम्पूर्ण विवरण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट भइसकेको हुन्छ।

अदालतले दोषी ठहर गरोस् वा नगरोस्। समाजको नजरमा ती व्यक्ति ‘बलात्कारी ठहर’ भइसकेका हुन्छन्। आखिर यस्तो परिपाटी कहिलेसम्म ? कहिले पाउँछन् साँच्चै पीडितले न्याय ?

कहिले पाउँछन् निर्मला पन्तका आरोपीले सजाय ? कहिले पाउँछन् निहारिका जस्ता आमाबाट जन्मिएका बच्चाले बाबु ? अनि कहिले पाउँछन् मुस्कान खातुन जस्ता युवतीले न्याय ?

कहिले हुन्छ नेपालको कानुन अक्षरस पालना र लागू ? कहिले पाउँछन् दोषीले कानुनअनुसारको सजाय ? जवाफ चाहियो सरकार।