काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।
उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिवर्तनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिवर्तनलाई सफल बनाउन लागि पर्ने दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेकोप्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बड्ने प्रतिबद्धता जनाए ।
उनले विगतको संसदीय कार्यकालमा, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं-१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेश गरे । उनले काठमाडौं १ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैँ परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए ।
आफू जनताको सेवाको लागि नागरिकका सुझाबलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वास गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेण्डा पूरा गर्नेतर्फ पुनः प्रतिबद्धता जनाए ।