क्रिकेट

टी–२० सिरिजको पहिलो खेलमा नेपालको जित

By खबरहब

February 11, 2022

काठमाडौँ । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

शुक्रबार ओमानको अल अमेरात मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदै पूरा गरेको छ ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाएका थिए । उनले ८ चौका र १ छक्का हिर्काएका थिए ।

त्यस्तै, आरिफ शेखले २५, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिएका थिए ।

यसअघि, ओमानले टस हारेर ब्याटिङ गरेको थियो । ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।

ओमानका कप्तान जीसान मक्सुदले सर्वाधिक ४३ रन बनाएका थिए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । त्यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरेका थिए ।

नेपालका लागि अविनाश बोहराले ३, कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिएका थिए ।

ओमानविरुद्ध नेपालका सागर ढकाल र विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।