राजनीति

‘म जनताका लागि काम गर्न प्रतिबद्ध छु’: मन्त्री आले

By खबरहब

March 11, 2022

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री आलेले अग्रज नेताहरूले देखाएको बाटोमा आफू सदैव हिड्ने र जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि बाचा गरे ।

मन्त्री आलेले दलित, जनजातिलगायत समुदाय विगतदेखि राज्यको उत्पीडनमा परेकाले यी समुदायको उत्थानका लागि आफू सधैँ प्रतिबद्ध रहेको पनि बताए ।

दलित समुदायको वृत्ति विकास र हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रहेर काम गर्नेसमेत उनले बताए ।

कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताविरुद्धको अभियानमा योगदान पुर्‍याउने तीन जनालाई सम्मान गरिएको थियो ।