समाचार

फुङ्लिङमा प्रत्येक वर्ष आगलागीबाट ठूलो क्षति

By खबरहब

March 11, 2022

ताप्लेजुङ- ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूला आगलागीका घटना हुने गरेका छन्। पटक–पटक हुने आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।

शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडा लाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्बाङ लिम्बूको मृत्यु भएको छ । केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो छोरीसँग बस्दै आएकी मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु बस्ने लिम्बूको आगलागीमा ज्यान गएको हो । 

प्रहरीका अनुसार आगलागीमा परी गम्भीर घाइते भएपछि लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

बिहान ९ बजे कोप्चे डाँडा लाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट नजिकै रहेको संगीता मादेन लिम्बूको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ । आङ्बुहाङको अर्को पक्की घरमा समेत आंशिक क्षति पुगेको छ । मृतककी कान्छी छोरी कौशिला लिम्बू आङ्बुहाङको घरमा भाडामा बसेर फुङ्लिङ बजारमा फेन्सी कपडा व्यवसाय गर्दै आएका छन् ।

उता आगलागीबाट केही सामान्य घाइते भएका छन् । आगोबाट ज्यान बचाउनलाई भाग्ने र आगो नियन्त्रणमा लिने क्रममा केही स्थानीय घाइते भएका हुन् । आगलागीबाट घरधनी र भाडावाल गरेर आधा दर्जन बढी परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा घरधनी आङ्बुहाङ र मादेनको परिवार हुनुहुन्छ भने उक्त दुई घरमा भाडामा बस्नेहरू कुमारी शेर्पा, कौशिला लिम्बू, रेनुका लिम्बू, जङ्ग शेर्पा विस्थापित भएको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।

त्यस्तै टङ्क अन्छङ्बो, कुमारी तामाङको परिवार र कोठा भाडामा बस्ने एक जना विद्यार्थीसमेत विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान्न, भाँडावर्तन र लत्ता कपडाजस्ता सामग्री वितरण गरेको सभापति इन्द्रबहादुर गुरुङले बताए ।

आगलागीबाट के कति क्षति भयो भन्ने विषयमा तथ्यांक संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी भने लापरबाहीले भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  

सदरमुकाम फुङ्लिङ बजारमा पटक–पटक हुने आगलागी घटनामा घरधनी र धेरै भाडामा बस्नेहरूले धनसम्पत्ति गुमाउँदै आएका छन् । आगलागीले नगद, सुनचाँदी, व्यापार प्रयोजनका जिन्सी सामग्री लगायतका पूर्वाधार तथा संरचना जलेर नष्ट हुने हुँदा ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ । मानवीय क्षति भने यो दोस्रो पटक हो । यसअघि तोक्मे बजारको हटिया लाइनमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको थियो ।

फुङ्लिङमा आगलागी शृङ्खला

सदरमुकाम फुङ्लिङ बजारमा विगत २०६० सालयता १८ वर्षको अवधिमा पाँच ठूला–ठूला आगलागी घटना भएका छन् । यस अवधिमा बजारभित्रै ससाना आगलागीका घटना भने धेरै भएका छन् ।  जिल्लास्थित प्रहरी र रेडक्रस सोसाइटीले राखेको तथ्यांकअनुसार पहिलो पटक २०६० चैत १५ गते सदरमुकाममा ठूलो आगलागी घटना भएको थियो ।

सदरमुकामको मुख्यबजार वीरेन्द्रचौकमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए । वीरेन्द्रचौकमा भएको आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए भने ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यस्तै २०६९ माघ २६ गते फुङ्लिङबजारको शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेका थिए । उक्त आगलागीबाट १८ परिवार विस्थापित भ एभने आठ करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो ।

फुङ्लिङ बजारकै टुक्रेलाइनमा २०७० कात्तिक १८ गते भएको आगलागीमा आठ घर पूर्णरुपमा जलेका थिए । सो आगलागीमा १७ परिवार विस्थापित भएका र करिब पाँच करोड रुपियाँ बराबरको क्षति भएको थियो । यसैगरी तोक्मेबजार क्षेत्रमा २०७१ चैत ९ गते भएको भीषण आगलागीमा ३७ घर जलेका थिए । उक्त सङ्ख्यामा घर जल्दा घरधनी र डेरावालसमेत १४५ परिवार विस्थापित भए भने ४० करोड रुपियाँको क्षति हुन पुगेको थियो ।

त्यस्तै २०७७ वैशाख १९ गते फुङ्लिङबजारको पुरानो बैङ्क लाइनमा आगलागी हुँदा आठ घर जलेको थियो भने ३० परिवार विस्थापित भएका थिए । सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको तथ्याङ्क रहेको छ ।

यसरी सदरमुकाम फुङ्लिङ बजारमा विभिन्न समयमा पटक–पटक आगलागी हुँदा ठूलो धन सम्पत्तिको क्षति भएको तथ्याङ्क छ । आगलागी घटना अधिकांश असावधानी र लापरबाहीले हुने गरेका छन् भने केही विद्युत् सर्ट र अन्य कारणबाट हुने गरेको तथ्याङ्कमा उल्लेख छ । बजारमा पुरानो तथा काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएका संरचनाका कारण आगो सुरु भएपछि चाँडै धेरैतिर फैलने र क्षति पुर्‍याउने गरेको छ ।