अपराध

उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या

By खबरहब

April 11, 2022

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ बर्मजियामा एक महिलाको हत्या भएको छ ।

सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ ।

बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यस्तै, कैलालीमा आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै इलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।