सांकेतिक तस्बिर

समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

By खबरहब

April 11, 2022

खोटाङ – बसको छतमा चढेको बेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको छतमा चढेका बेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेर उदयपुरको रौतामाई गाउँपालिका –४ का २६ वर्षीय प्रताप खड्काको मृत्यु भएको हो ।

छतमा राखेको यात्रुको सामान झार्नका लागि चढेको बेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् ।

चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुँदा खड्कालाई करेन्ट लागेको हो ।