मनोरञ्जन

बाफ्टाको कर्माथान फेस्टिभलमा ‘हल्कारा’

By खबरहब

May 11, 2022

काठमाडौँ– नेपाली फिल्म ‘हल्कारा’ ले एकपछि अर्को अन्तर्राष्ट्रिय फेस्टिभलमा आफूलाई अब्बल रुपमा सावित गरिरहेको छ । 

केही दिन अगाडि मात्र अमेरिकी फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, अभिनय र छायांकन विधामा जितेको फिल्म विश्वकै चर्चित फिल्म अवार्ड बाफ्टा (ब्रिटिश फिल्म एकेडेमी अवार्ड) को क्वालिफाइङमा पर्ने कर्माथान बे फिल्म फेस्टिभलमा छानिएको छ । फेस्टिभलको वेबसाइटले छनोटको पुष्टि गरेको छ ।

विक्रम सापकोटा निर्देशित यो फिल्ममा महेश त्रिपाठी मुख्य भूमिकामा छन् । अभिनेता त्रिपाठी र निर्देशक सापकोटाले आगामी मे १८ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

जीवनमा अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायतको पनि अभिनय छ । विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लव प्रतीक र आकाश बरालले लेखेका हुन् ।

 चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सन मिलेर निर्माण गरेका हुन् ।