तस्बिर : एनडिटिभी

खेलकुद

वेष्ट इन्डिजविरुद्ध एकदिवसीय श्रृंखला पाकिस्तानलाई

By खबरहब

June 11, 2022

काठमाडौँ – वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ ।

शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो ।

मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट इन्डिजका सामर ब्रुकले सर्वाधिक ४२ रन बनाए ।

केयले मायर्स ३३, कप्तान निकोलास पुरनले २५ रनको बनाए । पाकिस्तानका प्लेयर अफ दि म्याच मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए। मोहम्मद वासिमले तीन विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले दुई खेलाडीको अर्धसतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७५ रन बनायो । पाकिस्तानका बबर अजामले सर्वाधिक ७७ रन बनाए । अमाम उल हकले ७२ रनको योगदान गरे ।

सदाव खान र खुस्दील शाहले समान २२ रन जोडे । वेष्ट इन्डिजका एकेअल हुसेइनले सर्वाधिक तीन विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।