मनोरञ्जन

भिडियोमा आर्यन र पूजाको जोडी 

By खबरहब

June 11, 2022

काठमाडौँ– नायिका पूजा शर्माले आफ्नो करियरको सुरुवात नै अभिनेता आर्यन सिग्देलको को-स्टार बनेर गरेकी हुन् । आर्यन अभिनीत ‘मधुमास’ मार्फत पूजा अभिनयमा उदाएकी हुन् । यद्यपि त्यसपछि आर्यन र पूजाको जोडी ठुलोपर्दामा देखिएको छैन । निर्देशक सुदर्शन थापाले केही फिल्ममा आर्यनलाई पूजाको अपोजिट कास्ट गर्ने कोसिस गरेका थिए । यद्यपि आर्यनले मानेनन् । आर्यनले किन मानेनन्, त्यो उनैले जानून् । 

यद्यपि यो जोडी म्युजिक भिडियोमा भने देखिएको छ । पछिल्लो समय म्युजिक भिडियोमा आर्यनको व्यस्तता बढ्दो छ । एकपछि अर्को भिडियोमा देखिने क्रममा आर्यन पूजासँग देखिएका छन् । सार्वजनिक गीत ‘मायालु आभाषको भिडियोमा यी दुईको जोडी देखिएको हो । सार्वजनिक गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ भने प्रताप दास र अनु ढकालको स्वर रहेको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।