फाइल फोटो

राजनीति

शेखर समूहले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने

By खबरहब

July 11, 2022

काठमाडौँ – नेपाली काग्रेसका नेता शेखर कोइराला समूहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन् ।

भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै दिउँसो १ बजे कोइराला पक्षधर नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरूले सो प्रदर्शन गर्नेछन् । ‘भातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने माग सहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् । उनका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन् ।

सभापति देउवाले आफू निकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘वाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन्।