काठमाडौँ : हरेक आमाबुवाको सपना आफ्नो सन्तानले गर्व लाग्ने काम गरोस् भन्ने हुन्छ । त्यसमा पनि आफूले हिँडेको बाटोमा हिँड्दा झन् एक कदम अगाडि बढोस् भन्ने हुन्छ ।
तर त्यो सौभाग्य सबैलाई प्राप्त हुँदैन । प्राप्त गरेकाले सजिलै प्रमाणित गर्न सक्दैनन् । जसले प्रमाणित गर्छन्, त्यसको इतिहास स्वर्ण अक्षरले लेखिन्छ ।
यही इतिहास लेख्ने ऐतिहासिक सफलता पाकिस्तानकी नुह दस्तगीर बटले प्राप्त गरेका छन् । ‘कमनवेल्थ गेम्स २०२२’ मा उनले पाकिस्तानको लागि स्वर्ण जितेर यो इतिहास राखेका हुन् ।
गएको बुधबार भएको भारोत्तोलनको प्रतिस्पर्धामा १०९ किलो तौल समुहमा सहभागी २३ वर्षीय नूहले स्वर्ण जित्न सफल भएका हुन् । कमनवेल्थ गेम्स २०१८ मा नुहले कास्य पदक जितेका थिए ।
यसपटकको सहभागितामा भाग लिनु अगाडि आफ्नो देश र बुबाको लागि कास्यभन्दा राम्रो पदक जित्नु पर्ने सपनाबारे उनले एक अन्तरवार्तामा बताएका थिए ।
नभन्दै नुहले ‘स्नाच’ अन्तर्गत १ सय ७३ किलो र ‘क्लिन एण्ड जर्क’ मा २ सय ३२ किलो उठाउँदै सोचेभन्दा उत्कृष्ट प्रदर्शन गर्दै कुल ४ सय ५ किलोसहित स्वर्ण जित्न सफल भए ।
प्रदर्शनलाई उत्कृष्ट बनाउन उनको विगतको सहभागिताले पनि मुख्य भूमिका खेलेको थियो । सहभागिता अघि उनको नाममा धेरै पाकिस्तानीले ‘दुवा गरुन्’ भन्ने पनि नुहको चाहना थियो । प्रतियोगिताको क्रममा दर्शकबाट पाएको मायाप्रति पनि उनले आभार व्यक्त गरे ।
‘मेरो ध्यान लिफ्टमा मात्र केन्द्रित थियो । त्यसपछि मैले मानिसहरूले मेरो नामको नारा लगाएको देखे । यसपश्चात् उनीहरूको समर्थनको प्रभाव देखाउने मैले प्रदर्शन सुरु गरे । त्यो खुशी नै मेरो शक्ति र सफलता थियो’ नुहले खुशी हुँदै भने ।
बुबासँगको सम्बन्ध नूहको प्रेरणाको स्रोत नै उनको बुबा गुलाम दस्तगीर रहँदै आएका छन् । उनको बुबाले उनलाई पटकपटक गाली गर्थे । मायाले सल्लाह सुझाव दिने गर्थे ।
उनको बुबा गुलाम पनि पाकिस्तानका राष्ट्रिय भारोत्तोलन खेलाडी थिए । पाकिस्तानमा नै तालिम गरेर पाकिस्तानका लागि पदक जितेका उनको बुबाले नूहलाई उर्जा प्रदान गर्थे ।
बुबाको पाइला पछ्याउँदै नूहको पनि भारोत्तोलनमा आगमन भयो । सानै उमेर देखि नै सो खेल प्रतिको लगाव बढ्दै गयो ।
उनको बुबाले पनि सरकारको सहयोग बिना, पूर्वाधार र सुविधाको अभावमा गरेको सङ्घर्षका कारण खेलमा निरन्तरता दिने हौसला प्राप्त गर्दै आएका छन् । चुनौतीको सामना गर्दै आफू र आफ्नो लागि बुबाले धेरै गरेको नूहले महसुस गरेका छन् ।
शान्दार कमब्याक कमनवेल्थको यो स्वर्ण उनको लागि धेरै तरिकाले महत्वपूर्ण बन्यो । यस प्रतियोगितामा सहभागी हुनु अगाडि घाइते भएसँगै उनको खेल जीवनमाथि नै प्रश्न चिन्ह खडा भएको थियो ।
सन् २०१६ देखि नूह पाकिस्तानको भरपर्दो भारोत्तोलकका रुपमा चिनिँदै आएका छन् । उनको जुनियर तौल समुहमा कैयौँ कीर्तिमान छन् । १०९ किलोमाथिको तौल समुहमा आफूलाई चिनाउने नूह संघर्षरत थिए ।
नुहको लक्ष्य टोकियो ओलम्पिकमा सहभागीका जनाउने थियो । तर, उनको तिघ्रामा चोट लागेसँगै उनले सो सपनालाई तिलान्जली दिए । यसले उनलाई भारोत्तोलनबाट करिब एक वर्ष टाढा राख्यो ।
त्यस एक वर्षले उनलाई धेरै सिकाएर परिपक्क बनाएको उनको भनाई छ । क्षमतावान खेलाडी भएतापनि दुःखमा पाकिस्तान स्पोर्ट्स बोर्ड पीएसबी, पाकिस्तान ओलम्पिक संघ पीओए र सरकारको सहयोग नपाँउदा नूह दुःखी पनि भएका थिए ।
अस्वस्थ स्थितबाट स्वास्थ्य बन्ने उनको लडाइ भने पक्कै पनि सहज थिएन । यो उनको लागि मात्र नभई उनको परिवारको लागि पनि चुनौति थियो ।
पाकिस्तानमा एथलिट्हरुको आवश्यक पर्ने विशेष चिकित्सकको अझै पनि अभाव छ । यस्तो परिस्थितिमा सम्बन्धित निकायले हात अघि नबढाउँदाको चोट पनि नूहको लागि कडा चुनौती बन्यो ।
सो एक वर्षलाई नूहले आफ्नो जीवनको कालो भागको रुपमा पनि व्याख्या गर्ने गर्दछन् । यस दौरान उनलाई आफूलाई मानसिक रुपमा सबल बनाए । पूर्व अनुभवबाट कमजोर भएको मनोबललाई बलियो बनाउँदै पुन आत्मविश्वास प्राप्त एकीकृत गरे ।
यसअघि सन् २०२१ को डिसेम्बरमा तास्कान्दमा भएको विश्व भारोत्तोलन प्रतियोगिता उनको अन्तिम अन्तर्राष्ट्रिय सहभागीता थियो । त्यस सहभागितामा उनले एक रजत पदक प्राप्त गरेका थिए ।
विगतका कमनवेल्थ गेम्स् सन् २०१८ को कमनवेल्थ गेम्स्मा कास्य पदक जित्दा उनको बुबा दुःखी भएका थिए । उनको बुबाले केही समय राम्ररी बोलेका पनि थिएनन् । यसकारण पनि उनलाई यस प्रतियोगितामा आफ्नो शतप्रतिशत दिनु थियो ।
यसअघि सन् २०१५ र २०१७ को कमनवेल्थ वेटलिफ्टििङ च्याम्पियनसिपमा उनले क्रमश रजत र कास्य मात्र ल्याउन सफल भएका थिए । उनको नाममा केही राष्ट्रिय कीर्तिमान पनि छन् । स्वर्णको चाहनाले नै उनको सपनालाई आज साकार बनाएको छ ।
यद्यपि, यस उपलब्धीलाई नूहले केवल एक पाइलाका रुपमा लिएका छन् । यही सफलतालाई निरन्तरता दिँदै उनको ओलम्पिक २०२४ मा स्वर्ण पदक ल्याउने पनि सपना रहेको छ ।