अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

August 11, 2022

आज साउन २६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

भारतका उपराष्ट्रपति धनखरद्वारा सपथ ग्रहण

नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४ औँ उपराष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ ग्रहण गराएकी हुन् ।

गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए ।

उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठबन्धन समर्थित उम्मेदवार मार्गरेट अल्भाले प्रतिस्पर्धा गरेकी थिइन् । भारतको सङ्घीय संसद्मा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भाले १८२ मत पाएकी थिइन् ।

यसअनुसार उपराष्ट्रपतिमा निर्वाचित धनखरले ७४.३६ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन् ।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने व्यवस्था रहेको थियो । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मतमध्ये पनि १५ मत रद्ध भएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले त्योभन्दा धेरै ५२८ मत पाउन सफल भएका हुन् ।

भारतका नयाँ उपराष्ट्रपति धनखरको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको थियो ।

उनले विद्यालय तहको शिक्षा छत्तिसगढ राज्यस्थित सैनिक विद्यालयबाट पूरा गरेका थिए । उनले उच्च शिक्षामा भने भौतिकशास्त्र र कानुन अध्ययन गरेका हुन् ।

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ । दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ ।

राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रिर्कड गरेको बताएका छन् ।

यस हप्ताको सुरुमा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभरफ्लो मेट्रो स्टेशनबाट हिँडिरहेको देखाएको छ ।

बाढीका कारण मृत्यु भएका ११ जनामा छ जना सोल, तीन जना ग्योन्गी र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ ।

बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ । पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

क्राइमियास्थित रुसी सैनिक विमानस्थल क्षतिग्रस्त

सन् २०१४ यता रुसले नियन्त्रणमा लिएको क्राइमिया प्रायद्विपमा रहेको एउटा रुसी सैनिक विमानस्थल क्षतिग्रस्त भएको पाइएको छ । भू उपग्रहमार्फत् खिचिएको तस्वीरबाट क्राइमियाको साकी सैनिक आधार केन्द्र क्षतिग्रस्त भएको पाइएको बीबीसीले जनाएको छ ।

क्राइमियाको पश्चिममा रहेको उक्त सैनिक विमानस्थलमा गत मंगलबार अज्ञात क्षेप्यास्त्रबाट आक्रमण भएको समाचार सार्वजनिक भएको थियो । घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

बीबीसीले जनाएअनुसार भू उपग्रहमार्फत् लिइएको तस्वीरमा विमानस्थलको भौतिक संरचनामा क्षति पुगेको एवम् ८ वटा रुसी लडाकु विमानहरु पनि क्षतिग्रस्त भएको देखिएको छ । यद्यपि विमानस्थलको धावनमार्गमा भने कुनै क्षति नपुगेको जनाइएको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता क्राइमियास्थित रुसी सैनिक संरचनामा भएको यस आक्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । युक्रेनी पक्षले घटनाको जिम्मेवारी हालसम्म स्वीकार गरिसकेको छैन ।

युक्रेनी रक्षामन्त्रीले भने गैरजिम्मेवार रुसी सैनिकले घटना गराएको हुनसक्ने टिप्पणी गरेका छन् ।

‘मेरो विचारमा रुसी सेनाका केटाहरुले सामान्य नियम भंग गरे – खतरनाक ठाउँमा चुरोट नखानु ।’ युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘भएको त्यही हो ।’

यद्यपि नयाँ तथ्यहरुबाट यो सैनिक संरचनामा लक्षित हमलाको सम्भावना देखिएको जनाइएको छ । बीबीसीका अनुसार रुसी पक्षले भने गोलाबारुदको भण्डारमा आगलागी र विस्फोट भएका कारण विमानस्थलमा क्षति पुगेको बताएको छ ।

अमेरिकामा आधारित प्लानेट ल्याब्स नामक संस्थाले क्राइमियाको सैनिक विमानस्थलको तस्वीर सार्वजनिक गरेको हो ।

युक्रेनी वायुसेनाले घटनामा दर्जनजति रुसी लडाकु विमान ध्वस्त भएको दाबी गरेको छ । यद्यपि रुसी पक्षले घटनामा कुनै विमानमा पनि क्षति नपुगेको दाबी गरेको छ । यद्यपि नयाँ सार्वजनिक भू उपग्रह तस्वीरबाट रुसी दाबी झूठो रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।

मालीमा भएको आतङ्कवादी हमलामा ४२ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीको गाओ क्षेत्रमा रहेको टेसिट शहर नजिकै भएको आतङ्कवादी हमलामा ४२ मालियन सैनिकको मृत्यु भएको छ ।

आतङ्ककारी लडाकुको आक्रमणको जवाफमा सेनाले गरेको प्रत्याक्रमणमा ३९ लडाकु पनि मारिएको माली सरकारले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । भिडन्तमा अरु २२ जना घाइते भएका छन् ।

माली सरकारले जारी गरेको विज्ञप्तिअनुसार माली, नाइजर र बुर्किना फासोको सीमा जोडिएको संकटग्रस्त क्षेत्रमा आक्रमण भएको हो ।

साहारा मरुभूमिको दक्षिणमा पर्ने साहेल क्षेत्रमा पर्ने सीमाक्षेत्रमा कुनै पनि मुलुकको सैनिक उपस्थिती न्यून रहेको बताइन्छ । सोही कारण सो क्षेत्रमा इस्लामिक स्टेट, अल कायदाजस्ता आतङ्कवादी संगठनहरु सक्रिय रहँदै आएका छन् ।

सरकारले आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । माली सरकारले इस्लामिक स्टेट इन द ग्रेटर सहारा नामक सशस्त्र समूहले चालकरहित हवाई उपकरण ड्रोन, तोपखाना प्रणाली, विस्फोटक पदार्थ र कार बमहरू प्रयोग गरी हमला गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक एवम् आर्थिक सङ्कटको सामना गरिरहेको छ । तुआरेग नामक जातीय समुदायको विद्रोह, इस्लामिक अतिवादीको जिहादी आक्रमण एवम् अन्तर–सामुदायिक हिंसाका कारण मालीमा हजारौंको ज्यान गइसकेको छ भने अरु लाखौँ विस्थापित भएका छन् ।

क्यानडामा मंकीपक्सको बिरामीको सङ्ख्या १ हजार नाघ्यो

क्यानडामा मंकीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मंकीपक्सका बिरामी भएका हुन् ।

ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्टारियोमा अहिलेसम्म ४९७ जनामा मंकीपक्स पुष्टि भएको छ । त्यसैगरी कबेकमा ४२५ जना, ब्रिटिश कोलम्बियामा ८५ जना र अल्बेर्टामा १६ जना मंकीपक्सबाट बिरामी भएका छन् ।

मंकीपक्सका बिरामीहरू दैनिक रूपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।

कोभिड १९ माथि विजय हासिल गरेको उत्तर कोरियाली सर्वोच्च नेता किमको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरेका हुन् । महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।

ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो ।

उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन् ।

ग्रिसमा डुङ्गा दुर्घटना

एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ ।

रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रीक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेको ग्रीसका अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो ।

टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो शहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार रहेको ग्रीसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रीस पुगिसकेका छन् । सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकांशले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए ।

ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ : अमेरिका

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छिन् । चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको भनाइ आएको हो ।

‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ। र हामी त्यसो हुन दिन सक्दैनौं’, पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्र्याटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन् ।

चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर तर नियमित गस्ती जारी राख्ने जनाएको छ । स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ।

ताइवान टापुको वरपर समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतबार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

अन्ततः श्रीलंकाका प्रदर्शनकारीले प्रदर्शनस्थल भत्काए

अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस समुद्री मार्ग छेउमा आफ्ना पालहरू खाली गरिरहेको बताए ।

नजिकैका होटेलहरूमा बाधा भएको दाबी गर्दै प्रहरीले उक्त स्थान खाली गर्न दिएको आदेशविरुद्ध अदालतमा गरेको उजुरी पनि फिर्ता लिएको समूहका प्रवक्ताले जनाएका छन् ।

कार्यकर्ताहरूले आफ्ना पालहरू उतार्दै र प्रशासन विरुद्धको संघर्ष गर्न खडा गरेका अन्य संरचनाहरू हटाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

इन्धन, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभावको विरोधमा अप्रिल ९ मा प्रदर्शनकारीले वृहत विरोध र प्रदर्शन सुरु गरेका थिए । जुलाई ९ मा हजारौँको संख्याका प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ बढेपछि राजापाक्षेले बाध्य भएर राजीनामा दिएका थिए ।

राजापाक्षे सिंगापुर भागेर राजीनामाको घोषणा गरेको केही दिनपछि सेनाले दरबारका साथै प्रधानमन्त्रीको घर र कार्यालयमा कब्जा जमाउने प्रदर्शनकारीलाई हटाएको थियो ।

अफगानिस्तानमा चार सयभन्दा धेरै निजी विद्यालय बन्द

अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएका छन् । स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।

निजी विद्यालयको संगठनका नेता जाभिउल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए ।

त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उनको भनाइ छ ।

तालिबान सरकारका प्रमुख प्रवक्ता जाभिउल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पारे ।

बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाब अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।

मुस्लिम शरिया कानूनका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारीबाट बञ्चित गरिनुका साथै घर बाहिर एक्लै हिँड्न नपाइने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिबान प्रशासनले भने अस्वीकार गर्दै आएको छ ।