तस्वीर- एनपीआर

अन्तर्राष्ट्रिय

सिन्जियाङ प्रान्तमा चीनले आणविक हतियार परीक्षण केन्द्रको निर्माण गरिरहेको खुलासा

By खबरहब

August 11, 2022

काठमाडौँ– चीनले मुलुकको पश्चिममा रहेको सिन्जियाङ प्रान्तमा आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको खुलासा भएको छ ।

भू उपग्रहमार्फत् लिइएको तस्वीरको विश्लेषणबाट चीनले मुलुकको पश्चिममा रहेको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रमा आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको पाइएको हो ।

जापानबाट प्रकाशित हुने निक्के एसियाले भू उपग्रहमार्फत् लिइएका तस्वीरमा चीनले आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको उल्लेख गरेको छ ।

सिन्जियाङ प्रान्तको दक्षिण पूर्वमा पर्ने नुनिलो पानीको लोप नोर नामक तालबाट ४५० किलोमिटर माथिबाट भू उपग्रहले तस्वीर खिचेको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केही विश्लेषकहरुले यस गोप्य आणविक हतियार परीक्षण केन्द्रलाई चीनको जनमुक्ति सेनाले सुरक्षित गरिसकेको हुनसक्ने जनाएका छन् ।

चीनले लोप नोर ताल क्षेत्रमा पाँच पटक आणविक हतियार परीक्षण गरिसकेको छ । पछिल्लो समय चीनले सन् १९९६ मा लोप नोरमा आणविक हतियार परीक्षण गरेको थियो ।

विश्वमा आणविक हतियारको होडबाजी चलिरहेको चिन्तामाझ चीनले आणविक हतियार परीक्षण केन्द्रको निर्माण गरिरहेको विषयलाई निकै चासोपूर्वक हेरिएको छ ।

 

तस्वीर- निक्के एसिया/प्लानेट ल्याब्स