तस्वीर- ट्रिब्युन इण्डिया

अन्तर्राष्ट्रिय

विदेशबाट भारततर्फ हुने सैन्य सामग्रीको आयात घट्यो

By खबरहब

August 11, 2022

काठमाडौँ– विदेशबाट भारततर्फ हुने हतियार एवम् सैन्य उपकरणको आयात घट्दै गएको पाइएको छ ।

भारतबाट प्रकाशित हुने ट्रिब्युन इण्डियाले जनाएअनुसार पछिल्ला केही वर्षयता विदेशबाट भारततर्फ आयात हुने हतियार एवम् सैनिक उपकरणको स्तर घट्दै गएको हो ।

भारत सरकारले अघि सारेको ‘मेक इन इण्डिया’ नामक कार्यक्रम अन्तर्गत घरेलु सैन्य उद्योगलाई प्राथमिकता दिने नीतिका कारण आयात घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रिब्युन इण्डियाले जनाएअनुसार भारतले सन् २०१२–१६ को अवधिको तुलनामा सन् २०१७–२०२१ को अवधिमा २१ प्रतिशत कम सैन्य सामग्री आयात गरेको छ ।

भारतले अमेरिका, रुस, फ्रान्स, इजरायलजस्ता मुलुकबाट हतियार आयात गर्दै आएको छ । यद्यपि भारत सरकारले अघि सारेको ‘मेक इन इण्डिया’ कार्यक्रमले यी मुलुक एवम् हतियार कम्पनीहरुलाई भारतमा नै कारखाना स्थापना गरी सैन्य सामग्रीको निर्माण गर्न प्रोत्साहन गरेको जनाइएको छ ।