पछिल्लो समय गर्भावस्थाको बारेमा महिलाहरुको चाँसो बढेको छ । बच्चा जन्माउने तयारीदेखि गर्भावस्थाको जोखिम र त्यसका लागि गर्नुपर्ने तयारीका विषयमा पनि दम्पतिमा चाँसो बढेको पाइन्छ । यसले सुरक्षित गर्भवस्थाको तयारी र स्वस्थ्य बच्चा जन्माउन ठूलो सहयोग गर्छ । महिलाहरुको गर्भावस्थाको तयारी, गर्भावस्थाको बेला आउने समस्या र त्यसबाट बच्न अपनाउनुपर्ने होशियारीका विषयमा प्रजनन् रोग विशेषज्ञ डा.विभूति शाहीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
गर्भावस्थामा कस्तो कस्तो समस्या धेरै देखिन्छ ? गर्भावस्थामा तीन वटा समय हुन्छ । पहिलो सुरुको तीन महिना । त्यसपछि १३ हप्तादेखि २८ हप्तासम्मलाई दोस्रो समय । २८ हप्तादेखि ४० हप्तालाई तेस्रो समय भनिन्छ । त्यसमा समस्या भनेको ५० देखि ६० प्रतिशत महिलालाई वाकवाक लाग्ने, खान मन नलाग्ने, छिन छिनमा पिसाब लाग्ने र पिसाबमा इन्फेक्सन हुने हुन्छ । दोस्रो अवस्था गाउँतिरको माहिलामा रगतको मात्रा कम हुँदा गर्भवती हुने बेला जुकाको औषधिहरू नखानाले हुन्छ । पछि अन्तिममा कसैको प्रेसर हाई हुने सुगर हुने रगत बग्ने पनि हुन्छ ।
यो समस्या महिलाले केयर नगरेर वा खानेकुरामा कमी भएर हुन्छ या हर्मनको कारणले हुन्छ ? गर्भावस्थामा वाकवाक हुने खान मन नलाग्ने हुनु हर्मनको कारणले पनि हुन्छ । पौष्टिक आहारको कमी भएर पनि रगतको मात्रा कम हुन्छ गाउँघरमा या अरू ठाउँमा धेरै खानेकुराहरू नखाँदा पनि पौष्टिक आहार नपुगेर पनि एनिमिया हुन्छ । समय समयमा जुकाको औषधि खाँदैनौँ । वर्षमा २ पटक जुकाको औषधि खायो भने पछि गएर गर्भवतीमा एनिमिया हुँदैन । पछिल्लो समय यो डब्ल्युएचओले गाउँघरतिर नेपालका हरेक जिल्लामा फोलिक एसिड र आइरन फ्रीमा बाँड्नु भएको रहेछ । महिलाहरूमा २६ हप्तासम्म दिनु भएको रहेछ । त्यसले पछि गएर महिलाहरूमा एनिमिया हुने महिलाहरूमा महिनावारीमा धेरै रगत बग्ने हुन्छ, त्यसलाई यसले रोक्छ ।
यो खादा कस्तो फाइदा हुन्छ ? बाहिर गरेको अध्ययन अनुसार महिनावारि सुरु हुँदा पहिलो वर्ष धेरै बच्चीहरूमा धेरै रगत जाने समस्यालाई आइरनले रोक्छ । र, यो फोलिक एसिड दिँदा पनि पछि गएर १४/१५ वर्ष मा गर्भवती भए पनि कुनै असर गर्दैन ।
गर्भावस्थाको स्याहारमा पर्ने कुराहरू के–के हुन् ? स्वयम सेविकाहरूले ठाउँ ठाउँमा गएर जनचेतना जगाउनु पर्याे । गर्भवती हुनु भन्दा ३ महिना पहिला नै फोलिक एसिड खायो भने बच्चा पछि गएर स्वस्थ हुन्छ । दोस्रो पटक गर्भवती भएको महिलामा पहिला कस्तो समस्या भएको थियो त्यही अनुसार जाँच गर्नुपर्छ ।
पोषिलो खानामा के–के पर्दछ र कसरी मिलाएर खाने त ? बाहिरको खाना नखाने सकेसम्म घरको नै खाना खाने तरकारीहरू फलफूल धेरै खाने गर्नुपर्छ । अमिलो पिरो धेरै नखाने । खानेकुरामा धेरै प्रोटिन भएको गेडागुडीको रसहरू खाने । धेरै पानी खाने ३ देखि ४ लिटर खाने । घण्टामा १ गिलासको आधारले पानी खाने । ४ घण्टामा खाना खाने, चिनी, भात र आलु कम गर्ने ।
कतिपयलाई खान मन नलाग्ने खाए पनि पेटमा नरहने वान्ता हुने हुन्छ, यस्तो अवस्थामा कसरी खाने ? प्रायलाई यो वान्ताको समस्या हुन्छ । त्यस्तोले सुख्खा कुरा खाने, चिउरा दही खान सकिन्छ । सधैँ वाक वाकी आउने भयो भने अदुवा हल्का पोलेर दिनभरि चुसेर खाँदा त्यसले पनि कम गर्छ ।
पेटबाहिर धेरै देखियो भनेर पटुका टाइट पारेर राखेको हुन्छ, त्यसले शिशुलाई असर गर्छ कि गर्दैन ? त्यसले बच्चालाई असर गर्दैन । बच्चा पाठेघरभित्र रहन्छ । त्यसमा पर्याप्त मात्रामा पानी भयो भने असर गर्दैन ।
कस्तो लक्षण देखियो भने धेरै जोखिम हुन्छ ? पहिला अस्पतालमा जाँदा पहिला प्रेसर जाँच गरिन्छ । कसैको एकदमै प्रेसर हाई भयो सुगर छ भने त्यस्तोलाई हामीले सुरुदेखि नै राम्रो सँग उपचार गछौँ । २० हप्तापछि टाउको दुख्ने, खुट्टा सुनिने भयो । आँखा धमिलो जस्तो भयो । माथिल्लो पेटमा पोल्ने जस्तो भयो भने तुरुन्त अस्पताल जानु पर्दछ ।
यस्तो जोखिम देखिएको अवस्थामा घर परिवारको कस्तो भूमिका रहन्छ ? घर परिवारले आफ्नो छोरी बुहारी जो गर्भवती भएपछि काम र खानामा विशेष ध्यान दिनु पर्दछ ।
बच्चा कम तौल भएको जन्मियो भन्ने सुनिन्छ यसको वास्तविकता के हो ? महिलाले खानामा र आराम पुगेन भने मानसिक तनाव भएर बच्चामा रगतको मात्रा पुग्दैन बच्चाको तौल थोरै हुन्छ । खानपिनमा ध्यान गर्ने १० देखि १५ मिनेट व्यायाम गर्ने साल सबै ठिक ठाउँमा छ भने दिनमा १० मिनेट हिँड्न सकिन्छ ।
आमा र बच्चामा कुनै समस्या नआओस् भनेर के–के गर्दा राम्रो हुन्छ ? गर्भवती भएपछि सुरुमा नै डाक्टरकोमा गएर सल्लाह लिनु भयो भने सुरुबाट नै के खाने कसरी खाने भनेर यो ९ महिनामा जम्मा ११ किलो तौल बढ्नुपर्दछ । सुरुको तीन महिनामा १ किलो बढ्छ । त्यसपछि पाँच किलो र त्यसपछि ५ किलो गरेर बढ्छ । त्यो भन्दा ३ देखि ४ किलो तलमाथि भएर फरक पर्दैन । डाक्टरले हाइट हेरेर मिलाउनु हुन्छ । अर्को नियमित फ्लोअप गर्नु पर्दछ । नियमित आइरन क्याल्सियम खाने, टीटिको खोप लगाउने भिडियो एक्स–रे गर्ने गर्नुपर्छ ।
[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]