तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

इमरान खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च

By खबरहब

September 11, 2022

काठमाडौँ- पूर्व प्रधानमन्त्री इमरान खानको सुरक्षाका लागि पाकिस्तान सरकारले २४ करोड पाकिस्तानी रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।

पाकिस्तानी प्रहरीका महानिरीक्षक अकबर नासिर खानले पाकिस्तानको माथिल्लो सदन सिनेटलाई दिएको जानकारीअनुसार खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च भएको हो । उनले अब खानलाई दिँदै आएको सुरक्षा फिर्ता लिएको समेत सिनेटलाई जानकारी गराए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार खानको सुरक्षाका लागि २६६ जना जवानहरु प्रिचालन गरिएको थियो । यसबाहेक उनको सुरक्षाका लागि थप दुई निजी सुरक्षा कम्पनीलाई पनि जिम्मेवारी दिइएको डनले जनाएको छ ।

यता खानको तहरिक ए इन्साफ पार्टीका सिनेटर डा. शहजाद वसिमले भने खानलाई दिइँदै आएको सुरक्षा फिर्ता लिइनु चिन्ताजनक विषय भएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय राजनीतिक रुपमा अस्तव्यस्त रहेको पाकिस्तानमा खानले बेलाबेला राजनीतिक र्‍यालीहरुको आयोजना गर्दै आएका छन् । यस्तो अवस्थामा खानमाथि ज्यानै लिने किसिमका धेरै धम्कीहरु समेत आउने गरेको बताइएको छ ।