तस्वीर- ढाका ट्रिब्युन

अन्तर्राष्ट्रिय

चिनियाँ कम्पनी बंगलादेशमा कर छलीमा संलग्न

By खबरहब

September 11, 2022

काठमाडौँ– बंगलादेशमा चिनियाँ कम्पनीहरुले कर छली गर्ने गरेको पाइएको छ । बंगलादेशी अधिकारीहरुले चीनमा आधारित रहेका कम्पनीहरुले कर छली गर्ने गरेको पत्ता लगाएका हुन् ।

हालैमात्र कोन्डा आर्ट मटेरियल्स बंगलादेश को. लिमिटेड नाम गरेको कम्पनीको शाखा निङ्बो कोन्ठा आर्ट सप्लायर्स ग्रुपले चीनमा बनेका सामानलाई ‘बंगलादेशमा बनेको’ भन्दै ठूलो परिमाणमा राजश्व छली गरेको पाइएको हो ।

उक्त कम्पनीले २ सयभन्दा धेरैपटक यस्ता सामान चीनबाट बंगलादेशतर्फ आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअनुसार बंगलादेशलाई ३५ लाख अमेरिकी डलर हानी भएको बताइएको छ ।

यसबाहेक उक्त कम्पनीले ‘एक्सपोर्ट प्रोसेसिङ जोन’ अर्थात् निर्यात प्रशोधन क्षेत्रको पनि उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

बंगलादेशले आफ्नै मुलुकमा तयारी वस्तु उत्पादन गरी विदेशमा निर्यात गर्नका लागि कच्चा पदार्थको आयातमा छुट दिने गरेको भएपनि यस कम्पनीले चीनबाट नै तयारी वस्तु बंगलादेशतर्फ ल्याएर त्यहाँबाट पुनः अर्को मुलुकतर्फ निर्यात गर्ने गरेको पाइएको हो ।

यसअघि गत जुलाई महिनामा बंगलादेशी सुरक्षाकर्मीले चीनबाट आयात गरिएका २७ सय कार्टन विदेशी मदिरा बरामद गरेका थिए ।