फाइल तस्वीर

क्रिकेट

प्रधानमन्त्री कप : पुलिसद्वारा आर्मीलाई तीन सय पाँच रनको लक्ष्य 

By खबरहब

November 11, 2022

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो ।

पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले । उनले एक सय ४० रनको योगदान दिए । यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे । त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे । 

बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट झारे । यस खेलको विजेताले फाइनलयात्रा तय गर्नेछन् । हिजो भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मधेस प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले पाँच लाख पाउने छन् । फाइनल खेल भोलि हुनेछ ।