राजनीति

निर्वाचन नजिकिएसँगै शीर्षनेताहरु मत माग्न व्यस्त

By खबरहब

November 11, 2022

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन् । 

आगामी ४ मङ्सिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धन र एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितको अर्को गठबन्धन चुनावी मैदानमा छन् । 

आफ्नो गठबन्धन र उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्यसहित शीर्षनेताहरू दोडाहमा छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्षनेताहरूले चितवनमा हुने कार्यक्रममा सहभागी हुँदै छन् । 

उता एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार सुनसरी पुगेका छन् । धरानमा आयोजित चुनावीसभालाई उनले सम्बोधन गरेका छन् । 

गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको बताएका ओलीले एमालेसँगको सहकार्य गरेकाले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।