फाइल फोटो

मनोरञ्जन

थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन

By खबरहब

November 11, 2022

काठमाडौं– आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । 

नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । 

जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् । नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् । 

सोही प्रकृतिको उनीविरुद्धको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।  अभिनेता शाह हाल तनहुँ कारागारमा छन् ।