फाइल फोटो

खेलकुद

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपाललाई

By खबरहब

November 11, 2022

काठमाडौँ– बङ्गलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अंक जोड्यो  ।

समान चार खेल खेलेको बङ्गलादेशले सात अंक जोडेर उपविजेता बन्यो । भुटान अंकविहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।