फाइल तस्वीर

देश/प्रदेश

बागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहर संकलन

By खबरहब

December 11, 2022

काठमाडौँ- काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ ।

विसं २०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिक रुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बागमती पूर्ण रुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले बागमतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरेपनि कहिल्यै सफा बन्दैन । फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतः स्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन् ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक बागमती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन् ।

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको बागमती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।

अधिकार सम्पन्न बागमती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन् । काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन् ।