तस्वीर- क्रेमलिन

अन्तर्राष्ट्रिय

मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल बेच्दैनौँ : पुटिनले

By खबरहब

December 11, 2022

काठमाडौँ- रूसी तेलको मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल नबेच्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् । उनले तेल उत्पादन घटाउने विचार गरिरहेको समेत बताए ।

युक्रेनमा जारी युद्धमा रुसको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर सीमा तोकेका छन् ।

‘हामी यस्तो निर्णय गर्ने देशहरूलाई तेल बेच्दैनौं भनेर मैले पहिले नै भनेको छु’ पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भने ।

‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा पनि विचार गर्नेछौं’ उनले भने । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक र मूर्खतापूर्ण निर्णय’ को संज्ञा समेत दिएका छन् ।