देश/प्रदेश

चिनियाँ हस्तक्षेप बढेको भन्दै काठमाडौँमा प्रदर्शन

By खबरहब

January 12, 2022

काठमाडौँ– नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको र अन्य प्रजातान्त्रिक देशविरुद्ध गतिविधि गरेको भन्दै चीनको बिरोध गरिएको हो।

प्रदर्शनमा सहभागीले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर, तेस्रो देशसँगको सम्बन्धमा नखेल, नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लगायतका नारा लगाउँदै प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।

चीनले रसुवा र तातोपानी नाकामा अघोषित नाकाबन्दी गरिरहेको र नेपालको तेस्रो देशसँगको सम्बन्धमा खेलिरहेको भन्दै प्रदर्शन गरेको नागरिक समूहले गरेको प्रदर्शनमा सहभागी रामु लामाले खबरहबलाई बताए।

उनले पछिल्ला दिन चिनियाँ राजदूतले एमसीसीविरुद्ध बढाएको सक्रियता र भारतविरोधी कदमविरुद्ध कोभिडका बाबजुद पनि सडकमा जानु परेको बताए। प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।