अन्तर्राष्ट्रिय

कतारमा एकैदिन ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिए

By खबरहब

January 12, 2022

दोहा– नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्र रुप लिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार १६९ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५७३ समुदायभित्रकै संक्रमित हुन् भने ५ सय ९६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७८ हजार ६९८ पुगेको छ ।

यस अवधिमा ८२८ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि २ लाख ४९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ५७ र ९१ बर्षीय नागरिकको मृत्यु भएसंगै मृतकको संख्या पनि ६२१ पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या २८ हजार ४७० रहेको छ भने ५३९ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ६५ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सय १६ जना कारबाहीमा

संक्रमण तीव्र रुपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु बिरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ४ सय १६ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ३ सय २० जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको ८३ र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा १३ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौँ व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।